काठमाडौँ । काठमाडौँमा विगत तीन महिनादेखि रातको समयमा सर्वसाधारणको गहना र नगद लुटपाट गर्दै आएको एउटा ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानबाट यो गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले विशेषगरी रातको समयमा दुई वा तीनवटा मोटरसाइकलमा तीन–तीन जनाको दरले चढेर लुटपाट गर्ने गरेको पाइएको छ। लुटपाटको क्रममा उनीहरूले पीडितहरूलाई कुटपिट समेत गर्ने गरेका थिए, जसका कारण कतिपय पीडितको कानै च्यातिएको र गम्भीर चोट लागेको अवस्था छ।

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण–७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली–१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली–१ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु–१ का १८ वर्षीय राजिव भण्डारी, रामेछापको दोरम्भा–८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर–३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।
पक्राउ पर्नेहरूमा लुटपाटका मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ रहेका छन्। पक्राउ परेकामध्ये धेरैको आपराधिक पृष्ठभूमि रहेको र उनीहरू यसअघि पनि चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्तिहरू हुन्। यो गिरोहले लुटपाट गर्नुअघि बा १२ च ७७०१ नम्बरको निजी गाडीमा रेकी गर्ने र दिउँसोको समयमा ट्याक्सी चलाएर राति त्यही सवारी लुटपाटमा प्रयोग गर्ने गरेको खुलेको छ।

प्रहरीले लुटपाटमा प्रयोग भएका ६ वटा सवारीसाधन बा १२ च ७७०१ एउटा निजी कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी बरामद गरेको छ। बरामद मोटरसाइकलहरूमा बा. प्र. ०२-०१६ प १८५६ नं. को सेतो एनएस २०० सीसी मोटरसाइकल, बा ७० प २९८० नं. को केटीएम आरसी २०० सिसी मोटरसाइकल प्र. ३-०२-००७ प ७८०६ नं. को २०० सिसीकाे मोटरसाइकल जस्ता तीव्र गतिका सवारी साधनहरू रहेका छन्।
यो गिरोहले काठमाडौँको बौद्ध, कुमारीगाल, चाबहिल, भीमसेनगोला, एयरपोर्ट, स्वयम्भू, विजेश्वरी, कारखानाचोक, डल्लु, नयाँ बजार, बुढानीलकण्ठ, कपन र कोटेश्वर जस्ता विभिन्न क्षेत्रमा लुटपाट मच्चाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।
हालसम्म २७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् भने उनीहरू विरुद्ध अहिलेसम्म जम्मा ४ वटा जाहेरी दर्ता भइसकेको छ। उनीहरूले सुनका औँठी, सिक्री, मुन्द्रा, टप, ब्रासलेट, आइफोन र ठूलो मात्रामा नगद रकम लुट्ने गरेका थिए। प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ र अन्य फरार हुनसक्ने व्यक्तिहरूको पनि खोजी भइरहेको छ।