काठमाडौँ । नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौँको नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगर रहेका छन् ।
हुन्डी कारोबारको अभियोगमा गत मङ्सिर १५ गते पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई थुनामुक्त गरिदिने प्रलोभन देखाई थापामगरले ठगी गरेको प्रहरीले जनाएको छ । उनले आफू प्रहरी अधिकारी रहेको र ५ लाख रुपैयाँ दिएमा शेर्पालाई छुटाइदिने भन्दै निजकी आमासँग रकम लिएर फरार भएका थिए ।
रकम लिएर फरार भएका थापामगरलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा माघ १९ गते काठमाडौँ महानगरपालिकाको बानियाँटारबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका थापामगरमाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिए ।