• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वैदेशिक रोजगारी र अध्ययनका नाममा ६८ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई ६८ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१० स्थित ‘ह्याप्पी एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालन गर्ने ३२ वर्षीय बद्री सिलवाल रहेका छन् ।

प्रहरीका अनुसार सिलवालले अध्ययन भिसामा पोर्चुगल पठाइदिने भन्दै दुई जना विद्यार्थीबाट २१ लाख ७० हजार रुपैयाँ आफ्नो कन्सल्टेन्सीको खातामा जम्मा गर्न लगाएका थिए । रकम लिएपछि गत असार–साउनतिर उनी कन्सल्टेन्सी बन्द गरेर फरार भएका थिए । पीडितहरूको जाहेरीका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनलाई माघ २० गते पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा सिलवालले आफ्नो पहिचान बदलेर समेत ठगी गर्ने गरेको खुलेको छ । उनले ‘केदार प्रसाद सिलवाल’ भनी आफ्नो गलत परिचय दिँदै अर्का एक विद्यार्थीलाई स्पेन पठाउने आश्वासन दिएर १२ लाख ४० हजार रुपैयाँ ठगी गरेको फेला परेको छ । उनले १२ लाखको चेक काट्न लगाएको र ४० हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

सिलवालले काठमाडौंमा मात्र नभई चितवनमा पनि ठगी धन्दा चलाएको पाइएको छ । उनले चितवनको भरतपुर महानगरपालिका–१० मा सोही नामको कन्सल्टेन्सी सञ्चालन गरी चार जनालाई सर्बियामा कामदार भिसामा पठाइदिने भन्दै २१ लाख ९० हजार ५०० रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको छ ।

यस्तै, स्पेन पठाइदिने भन्दै अन्य तीन जना मानिसहरूबाट पनि उनले थप १२ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (SP) पवन कुमार भट्टराईका अनुसार, सिलवालमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । विभिन्न देश पठाउने नाममा उनले अहिलेसम्म कुल ६८ लाख १ हजार रुपैयाँभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले वैदेशिक यात्रा र अध्ययनका नाममा जथाभावी रकम नबुझाउन र आधिकारिकता बुझेर मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।