• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो ‘सांगीतिक धमाका’ २४ अप्रिल २०२६ मा कुवेतमा

कुवेत । खोटाङ कुवेत सम्पर्क मञ्चले प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचान सुदृढ गर्ने उद्देश्यसहित दोस्रो ‘सांगीतिक धमाका’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०८३ साल बैशाख ११ गते (२४ अप्रिल २०२६), शुक्रबार कुवेतमा भव्य रूपमा सम्पन्न गरिने मञ्चले जनाएको छ।

मञ्चको २१ औँ मासिक बैठकपछि नेपालबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोकप्रिय कलाकारहरूलाई आमन्त्रण गरी विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिने निर्णय गरिएको हो। यो कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नरही प्रवासमा रहेका नेपालीहरूबीच मेलमिलाप, भाइचारा, सामाजिक उत्तरदायित्व र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मञ्चले स्पष्ट पारेको छ।

कुवेतस्थित Asian Chula Nepali Restaurant मा सम्पन्न २१ औँ मासिक बैठक संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा संस्थाका गतिविधि, आगामी योजना, प्रवासी नेपाली समुदायका समस्या तथा समाधानका उपाय र संस्थागत सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। सोही बैठकले सर्वसम्मत रूपमा दोस्रो ‘सांगीतिक धमाका’ आयोजना गर्ने निर्णय गरेको हो।

कार्यक्रमलाई सफल, सभ्य र मर्यादित बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, कलाकार, बुद्धिजीवी, पत्रकार तथा नेपाली समुदायलाई कार्यक्रम नजुधाइ दिन, आपसी समन्वय कायम गर्न र गरिमामय उपस्थितिका लागि मञ्चले आग्रह गरेको छ।