काठमाडौं । बंगलादेशमा भइरहेको आम निर्वाचनका क्रममा खुल्नास्थित एक मतदान केन्द्रमा दुई समूहबीच भएको झडपमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का एक प्रभावशाली नेताको मृत्यु भएको छ।
बीबीसी बांग्लाका अनुसार खुल्ना सदर इलाकाको आलिया मदरसा मतदान केन्द्रमा बिहीबार बिहान भएको झडपमा मोहिबुज्जमान कोचीको मृत्यु भएको हो। उनी खुल्ना मेट्रोपोलिटन बीएनपीका पूर्व सचिव थिए।
खुल्ना–२ निर्वाचन क्षेत्रका बीएनपी उम्मेदवारका प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहीबार बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले ‘जमात–ए–इस्लामी’ को पक्षमा प्रचार गर्न थालेका थिए। सोही क्रममा बीएनपी नेता कोचीले उनलाई रोक्न खोज्दा दुई पक्षबीच चर्को विवाद र धकेलाधकेल भएको थियो।
धकेलाधकेलका क्रममा कोची नजिकैको रुखमा ठोकिन पुगेका थिए र त्यसलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रेको बताइएको छ। उनलाई तत्काल उपचारका लागि खुल्ना सिटी मेडिकल कलेज अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
केएमपी कमिश्नर मोहम्मद जहिदुल हसनले घटनाको पुष्टि गर्दै बिहान दुई पक्षबीच भनाभन भएको र सोही क्रममा कोचीको स्वास्थ्य बिग्रेर मृत्यु भएको जानकारी दिएका छन्। यद्यपि, प्रहरीले रुखमा ठोक्किएकै चोटका कारण उनको मृत्यु भएको हो वा हृदयघात जस्ता अन्य कुनै स्वास्थ्य समस्याले भन्नेबारे स्पष्ट अनुसन्धान भइरहेको जनाएको छ।
अवामी लिगको अनुपस्थितिमा भइरहेको यो निर्वाचनमा बीएनपी र जमात–ए–इस्लामी समर्थित समूहहरूबीच ठाउँ–ठाउँमा तनाव देखिएको छ।
यो पनि पढ्नुहोस् ।
शेख हसिना भारत भागेपछि बंगलादेशमा पहिलोपटक आमनिर्वाचन, यी दलहरूबीच प्रतिस्पर्धा