• २०८३ साउन ४
  • 2026 July 20, Monday

दुर्गा प्रसाईंविरुद्ध ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’मा अनुसन्धान हुने

काठमाडौं । विवादित मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पुनः प्रहरीको नियन्त्रणमा पुगेका छन्। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको र समाजमा भ्रम फैलाएको आरोपमा सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका प्रसाईंमाथि प्रहरीले यसपटक थप कडा कानुनी प्रक्रिया अघि बढाउने संकेत दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिनेछ। सरकारका नीति र प्रक्रियाप्रति आक्रामक बन्दै आएका प्रसाईंले पछिल्लो समय अनिश्चितकालीन बन्द गराउने र निर्वाचन नै हुन नदिने जस्ता राज्यविरुद्धका अभिव्यक्ति दिँदै आएका थिए।

प्रसाईं पक्राउ परेको यो पहिलो पटक भने होइन। यसअघि पनि माघ ५ गते पोखराबाट र माघ २३ गते काठमाडौँबाट उनी पक्राउ परिसकेका थिए। तर, दुवै पटक उनी हाजिर जमानीमा रिहा भएका थिए। अघिल्लो पटक निर्वाचनका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका कारण साइबर ब्युरोले उनीसँग बयान लिएर छाडेको थियो।