• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

क्षेत्रीय भू–राजनीतिमा नयाँ तरंग ! सेभेन सिस्टर्स र नेपालबारे युनुसको अर्थपूर्ण अभिव्यक्ति

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। तर, सत्ताबाट बिदा हुनुअघि उनले भारतलाई असहज बनाउने गरी पुनः एकपटक विवादास्पद अभिव्यक्ति दिएका छन्। तारिक रहमानले सत्ता सम्हाल्ने तयारी गरिरहँदा युनुसले आफ्नो बिदाइ भाषणमा भारतको पूर्वोत्तर राज्य (सेभेन सिस्टर्स) लाई लिएर टिप्पणी गरेका हुन्।

आफ्नो अन्तिम सम्बोधनमा युनुसले भने, ‘हाम्रो खुला समुद्र बंगलादेशको भौगोलिक सिमाना मात्र होइन तर विश्वव्यापी अर्थतन्त्रसँग जोडिने खुला ढोका पनि हो। नेपाल, भुटान र यस क्षेत्रका (सेभेन सिस्टर्स)हरूमा ठूलो आर्थिक सम्भावना छ’, उनले भने ।

युनुसले भारतका सात राज्यहरू– अरुणाचल प्रदेश, असम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र त्रिपुरा (उत्तरपूर्वी भारतका यी सात राज्यहरू सेभेन सिस्टर्स अर्थात् सात बहिनीकारुपमा चनिन्छन्) को उल्लेख गर्दा ‘भारत’ को नाम भने उच्चारण गरेनन्। भारतको नाम नलिई ती राज्यहरूलाई स्वतन्त्र एकाइका रूपमा व्याख्या गर्नुलाई कुटनीतिक वृत्तमा ती राज्यहरूको राष्ट्रियतालाई भारतबाट अलग गरेर हेर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ।

युनुसले यस्तो दाबी गरेको यो पहिलो पटक भने होइन। गत मार्चमा चीन भ्रमणका क्रममा पनि उनले भनेका थिए, ‘भारतका सेभेन सिस्टर्स राज्यहरू भूपरिवेष्ठित छन्। उनीहरूको समुद्रसँग कुनै सम्पर्क छैन। यस क्षेत्रका लागि समुद्रको ढोका र अभिभावक हामी (बंगलादेश) हौं।’

युनुसको यसअघिको बयानमा असमका मुख्यमन्त्री हिमन्त बिस्व शर्माले कडा आपत्ति जनाएका थिए। उनले युनुसको बयान ‘भड्काउ र निन्दनीय’ भन्दै यसलाई हल्का रूपमा लिन नहुने बताएका थिए। शर्माका अनुसार यस्ता बयानले गहिरो रणनीतिक षड्यन्त्र र लामो समयदेखिको एजेन्डालाई दर्शाउँछ।

भारतीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकार सञ्जीव सन्यालले पनि युनुसले चीनसँग भारतका राज्यहरूलाई भूपरिवेष्ठित भन्दै गुहार माग्नुको अर्थ र महत्वमाथि प्रश्न उठाएका थिए।

भारतको उत्तर–पूर्वी भाग सिलीगुडी कोरिडोर (जसलाई चिकन नेक पनि भनिन्छ) मार्फत यी भूभाग बाँकी भारतसँग जोडिएको छ। यो कोरिडोर मात्र २२ किलोमिटर चौडा छ। बंगलादेश, नेपाल, भुटान र चीनको सीमा नजिकै रहेको यो क्षेत्र सामरिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ।

युनुसका निकट मानिने कतिपय पूर्व सैन्य अधिकारी र विद्यार्थी नेताहरूले समेत बंगलादेश अस्थिर भए भारतको सेभेन सिस्टर्सलाई अलग गरिदिने सम्मका धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। गत अप्रिलमा युनुसका सहयोगी मेजर जनरल (अवकाशप्राप्त) फजलुर रहमानले त भारतले पाकिस्तानमाथि हमला गरे बंगलादेशले चीनसँग मिलेर भारतका पूर्वोत्तर राज्यहरू कब्जा गर्नुपर्ने विवादित फेसबुक पोस्ट समेत गरेका थिए।

उत्तरपूर्वी भारतका सेभेन सिस्टर्स राज्यहरू भौगोलिक रूपमा बंगलादेश, भुटान, चीन र म्यानमारले घेरिएका छन्। यसको अर्थ तिनीहरूको समुद्री सम्बन्ध छैन। भारतसँग तिनीहरूको जमिनको सम्बन्ध सिलीगुडी करिडोरबाट छ।

चीनले पहिले नै सात भगिनी राज्यहरूमध्ये एक अरुणाचल प्रदेश दाबी गरिसकेको छ। चीनले यसलाई दक्षिणी तिब्बत भन्छ। चीनले अरुणाचल प्रदेश पनि दाबी गरिसकेको छ। राज्यका धेरै क्षेत्रहरूलाई चिनियाँ नाम दिइएको छ।

यस्तो अवस्थामा व्यापार र सुरक्षाका लागि बंगलादेश भारतमाथि निर्भर छ भने भारतलाई पनि आफ्ना पूर्वोत्तर राज्यहरूमा सहज पहुँचका लागि बंगलादेशको ट्रान्जिट आवश्यक पर्छ। यद्यपि, बंगलादेशका राजनीतिक दलहरू र नागरिक समाजले सार्वभौमिकताको कारण देखाउँदै भारतलाई ट्रान्जिट दिन सधैं आनाकानी गर्दै आएका छन्।