काठमाडौं । काठमाडौंमा बसोबास गर्दै आएका खोटाङे समुदायको साझा संस्था ‘खोटाङ हलेसी सेवा समाज’ र ‘खोटाङ कलाकार समाज’ को संयुक्त आयोजनामा काठमाडौंको दक्षिणकालीमा वृहत् वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
वि.सं. २०६७ साल फाल्गुन ११ गते स्थापना भई काठमाडौंको काँडाघारीमा केन्द्रीय कार्यालय रहेको खोटाङ हलेसी सेवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको आयोजना गरेको हो । हाल २६७ घरधुरी सदस्य आबद्ध रहेको यस संस्थाले स्थापनाकालदेखि नै स्वास्थ्य शिविर, रक्तदान, आर्थिक सहयोग र सम्मान जस्ता रचनात्मक कार्यहरू गर्दै आएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकसंगीत तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए, जसमा ३५० भन्दा बढी खोटाङेहरूको उत्साहजनक सहभागिता रहेको समाजका महासचिव सुरेन्द्र कटुवालले जानकारी दिए ।
सोही अवसरमा ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ को उत्कृष्ट ४ मा पर्न सफल प्रतिभाशाली गायक सागर संसार राईलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । राईलाई प्रतियोगितामा जिताउनका लागि “सागर संसार राई जिताऊ अभियान” अन्तर्गत कार्यक्रम स्थलमै ९० हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको महासचिव कटुवालले बताए ।
संस्थाका संस्थापक अध्यक्षहरू गोविन्द भट्टराई, कर्णराज कटुवाल र गणेश बस्नेतको जगमा उभिएको यस समाज हाल अध्यक्ष इन्दा थापाको नेतृत्वमा सक्रिय छ । पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कर्णराज कटुवालको विशेष मार्गदर्शनमा समाजले आफ्ना गतिविधिहरूलाई तीव्रता दिँदै आएको छ ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हातहरू, कलाकारहरू र सहभागीहरूलाई अध्यक्ष इन्दा थापा र सल्लाहकार संयोजक कर्णराज कटुवालले विशेष धन्यवाद व्यक्त गरे । यस्ता कार्यक्रमले प्रवासमा रहेका जिल्लावासीबीच आपसी सद्भाव, एकता र आफ्नो माटोका प्रतिभालाई प्रोत्साहन गर्न थप ऊर्जा मिल्ने विश्वास संस्थाले लिएको छ ।