अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्कटिक क्षेत्रमा रहेको डेनमार्कको अर्ध-स्वायत्त इलाका ‘ग्रीनल्याण्ड’ माथि नियन्त्रण गर्ने इच्छा देखाएका छन्। ट्रम्पको यो कदमले इतिहासकारहरूलाई अमेरिकाको त्यो पुराना दिनहरूको सम्झना गराएको छ, जब अमेरिकाले विभिन्न देशहरूसँग जमिन किनेर आफ्नो सीमा विस्तार गरेको थियो।
मिसौरी विश्वविद्यालयका इतिहासकार जे सेक्सटन भन्छन्, ‘ग्रीनल्याण्डका बारेमा अमेरिकाको तर्क छ, यो क्षेत्र अन्य शक्तिहरूको हातमा पर्नुअघि नै अमेरिकाले यसमाथि कब्जा जमाउनु आवश्यक छ।’ ट्रम्पले सुरक्षाको दृष्टिकोणले ग्रीनल्याण्डमा अमेरिकाको ‘स्वामित्व’ हुनुपर्नेमा जोड दिँदै आएका छन्।
यहाँ विगत दुई शताब्दीमा अमेरिकाले गरेका केही ठूला भूभाग खरिदका बारेमा चर्चा गरिएको छ, जसले अमेरिकालाई आजको विशाल स्वरूप दियो :
१. लुइसियाना खरिद (१८०३)- फ्रान्सबाट
सन् १८०३ मा तत्कालीन अमेरिकी राष्ट्रपति थोमस जेफरसनले फ्रान्सबाट लुइसियाना खरिद गर्ने निर्णय गरे। यो अमेरिकी इतिहासको सबैभन्दा महत्त्वपूर्ण मोड थियो। २० लाख वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको यो इलाका किनेपछि अमेरिका एक शक्तिशाली देशको रूपमा उदायो।
त्यतिबेला फ्रान्सेली नेता नेपोलियन बोनापार्ट बेलायतसँगको युद्ध र आफ्नो उपनिवेश हैटीमा भइरहेको विद्रोहका कारण यो क्षेत्र बेच्न बाध्य भएका थिए। अमेरिकाले यसका लागि १ करोड ५० लाख डलर तिरेको थियो, जुन आजको मूल्यमा ४० करोड डलरभन्दा बढी हुन्छ। यस खरिदबाट हालका १५ वटा अमेरिकी राज्यहरू बनेका छन्।
२. मेक्सिकन सेसन (१८४८) – मेक्सिकोबाट
१८४० को दशकमा अमेरिकीहरू ‘डेस्टिनी’ (भाग्य) मा विश्वास गर्थे, जसअनुसार उनीहरूले प्रशान्त महासागरको तटसम्म राज्य विस्तार गर्नुथियो। यसका लागि अमेरिकाले मेक्सिकोसँग युद्ध गर्यो।
सन् १८४५ मा अमेरिकाले टेक्ससलाई आफ्नो राज्य बनायो। त्यसपछिको युद्धमा मेक्सिको पराजित भएपछि सन् १८४८ मा ‘ग्वादालुप हिदाल्गो’ सन्धि भयो। अमेरिकाले १ करोड ५० लाख डलर (आजको ६० करोड डलर) तिरेर क्यालिफोर्निया, नेभाडा, उटाह, एरिजोना र न्यू मेक्सिको लगायतका क्षेत्रहरू प्राप्त गर्यो। मेक्सिकोले आफ्नो आधाभन्दा बढी भूभाग अमेरिकालाई सुम्पिनुपरेको थियो।
३. ला मेसिला खरिद (१८५३) – मेक्सिकोबाट
मेक्सिकोसँगको युद्ध सकिए पनि तनाव जारी थियो। सन् १८५३ मा अमेरिकाले रेलमार्ग (ट्रान्सकन्टिनेन्टल रेलवे) बनाउनका लागि मेक्सिकोको दक्षिणी भागको एउटा सानो पट्टी किन्ने सम्झौता गर्यो। ७७ हजार वर्ग किलोमिटरको यस भूभागका लागि अमेरिकाले १ करोड डलर तिरेको थियो। यो क्षेत्र हालको अमेरिकाको दक्षिणी सिमाना हो।
४. रुसबाट अलास्काको खरिद (१८६७)
सन् १८६७ मा अमेरिकी विदेशमन्त्री विलियम सीवार्डले रुसी साम्राज्यबाट अलास्का किन्ने प्रस्ताव राख्दा धेरैले उनको आलोचना गरेका थिए। मानिसहरूले यसलाई ‘सीवार्डको मूर्खता’ भनेका थिए किनभने उनीहरूलाई लाग्थ्यो कि अमेरिकाले हिउँले भरिएको बेकारको जमिन किन्दैछ।
तर, रुसलाई यो क्षेत्र जोगाउन महँगो परिरहेको थियो र उसलाई बेलायतले कब्जा गर्ला भन्ने डर थियो। अमेरिकाले ७२ लाख डलर (आजको १६ करोड डलर) मा १५ लाख वर्ग किलोमिटरभन्दा बढी जमिन किन्यो। पछि अलास्कामा सुन र तेलको विशाल भण्डार फेला परेपछि यो सम्झौता अमेरिकाका लागि निकै फाइदाजनक साबित भयो।
५. डेनमार्कबाट अमेरिकी भर्जिन टापु खरिद (१९१७)
अमेरिकाले अन्तिम पटक कुनै देशबाट भूभाग किनेको सन् १९१७ मा हो। क्यारिबियन क्षेत्रमा रहेका यी टापुहरू पहिले ‘डेनिस वेस्ट इन्डिज’ भनिन्थे। पहिलो विश्वयुद्धको समयमा जर्मनीले यी टापुहरूमा कब्जा गरेर अमेरिकी जहाजमाथि आक्रमण गर्ला भन्ने डरले अमेरिकाले यी टापुहरू किन्ने निर्णय गर्यो।
अमेरिकाले डेनमार्कलाई २ करोड ५० लाख डलर तिरेर यी टापुहरू आफ्नो बनायो। यही सम्झौताको क्रममा अमेरिकाले ग्रीनल्याण्डमा डेनमार्कको राजनीतिक र आर्थिक स्वार्थलाई समर्थन गर्ने प्रतिबद्धता पनि जनाएको थियो।