• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

अमेरिकामा आफ्नै परिवारका सदस्यको विभत्स हत्या गर्ने नेपाली प्रहरीको गोलीबाट मारिए

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले आफ्नै परिवारका सदस्यहरूमाथि खुँडा प्रहार गरी बीभत्स हत्या गरेका छन् । हत्यामा संलग्न ५० वर्षीय छत्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा उनको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ५ : १५ बजे पर्सिमोन ड्राइभमा रहेको अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना आएको थियो । फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले घटनास्थललाई “कल्पनाबाहिरको विभत्स र डरलाग्दो” भनी वर्णन गरेका छन् ।

छत्रबहादुरले १० इन्च लामो धारिलो खुँडा प्रयोग गरी आफ्नी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका थिए ।

थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत त्यतिबेला बाहिर कारबाट हिउँ पन्छाइरहेका थिए । घरभित्र होहल्ला सुनेपछि उनले तत्काल ९११ मा फोन गरेर भित्र छिरेका थिए । भित्र पुग्दा उनले श्रीमती ममता र सासू बिन्दालाई रगतको आहलमा छटपटाइरहेको देखे । लगत्तै छत्रबहादुरले सन्तोषमाथि पनि आक्रमण गरे, जसका कारण उनी गम्भीर घाइते भएका छन् ।

प्रहरी घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि आक्रमण गरिरहेका थिए । प्रहरीले पटक-पटक हतियार फाल्न आदेश दिँदा पनि नमानेपछि एक अधिकारीले गोली चलाएका थिए । गोली लागेका छत्रबहादुरको घटनास्थलमै मृत्यु भयो ।

घरभित्र रहेको एक वर्षको बच्चा भने सकुशल फेला परेको छ । बच्चालाई हाल बाल संरक्षण सेवा (चाइल्ड प्रोटेक्टिभ सर्भिस) को जिम्मा लगाइएको छ ।

प्रहरीका अनुसार उक्त घरमा यसअघि घरेलु हिंसा वा कुनै विवादबारे प्रहरीलाई जानकारी आएको रेकर्ड छैन । यस्तो हिंसाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।