• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इरानका सर्वोच्च नेता खामेनी किन अमेरिका र इजरायलको निसानामा छन् ?

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि पुनः नयाँ चरणको आक्रमण सुरु गरेका छन्। यस पटकको आक्रमणको मुख्य निसाना इरानको सुरक्षा संयन्त्र र त्यहाँको राजनीतिक नेतृत्व रहेको देखिएको छ। शनिबार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा आक्रमणहरू भएका छन्, जसमा सर्वोच्च नेता आयतुलला अली खामेनीसँग सम्बन्धित क्षेत्रहरू पनि परेका छन्।

इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिका र इजरायलले देशभरका विभिन्न स्थानमा हमला गरेका छन्। तेहरानको उत्तरमा रहेको राष्ट्रपति भवन र सर्वोच्च नेता खामेनीको कार्यालय नजिकै सातवटा मिसाइल प्रहार भएको तस्निम न्युज एजेन्सीले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमण सुरु भएपछि खामेनीलाई तेहरानबाट कुनै सुरक्षित गोप्य स्थानमा सारिएको छ। हाल उनी कहाँ छन् भन्ने स्पष्ट जानकारी छैन।

८६ वर्षीय आयतुलला अली खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहेका छन्। उनले सन् १९७९ को इस्लामिक क्रान्तिका प्रणेता आयतुलला रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा सत्ता सम्हालेका हुन्। इरानको सरकार, सेना, न्यायपालिका र धार्मिक मामिलामा उनको अन्तिम र पूर्ण अधिकार रहन्छ।

आफ्नो शासनकालमा उनले पश्चिमा देशहरू, विशेष गरी अमेरिकासँगको कडा शत्रुतापूर्ण सम्बन्ध कायम राखेका छन्। उनले अमेरिकालाई इरानको नम्बर एक शत्रु र इजरायललाई दोस्रो मुख्य शत्रु मान्दै आएका छन्।

इजरायल र अमेरिकाले खामेनीलाई क्षेत्रीय अस्थिरता र इजरायलको अस्तित्वका लागि खतरा मान्दै आएका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले खामेनी जस्ता ‘तानाशाह’को अस्तित्व रहिरहन नहुने बताएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि खामेनीको हत्याले इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न सक्ने सङ्केत गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इरानमा सत्ता परिवर्तन हुनु नै उत्तम विकल्प भएको बताइरहेका छन् ।

यस पटकको आक्रमणको मुख्य उद्देश्य इरानको मिसाइल साइट र नौसेनालाई ध्वस्त पार्नुका साथै इरानको राजनीतिक र सैन्य नेतृत्वलाई समाप्त पार्नु रहेको विश्लेषकहरूको भनाइ छ।

अल जजीराका विश्लेषक अली हासेमका अनुसार, यो आक्रमण इरानको राजनीतिक सम्भ्रान्त वर्गको अन्त्य गर्ने उद्देश्यले गरिएको प्रस्ट देखिन्छ, यद्यपि यो कति सफल भयो भन्ने कुरा अझै खुल्न बाँकी छ।