काठमाडौं । प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एक–एक जना उम्मेदवारलाई पक्राउ गरेको छ ।
प्रहरीले पर्सा–२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो ।
मौनअवधिका बेला नगदसहित गएराति उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । सिरहा ३ का जसपा नेपालका उम्मेदवार यादवसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको छ ।
नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२ : ३० बजे सिरहाको शिवचोकमा संयुक्त चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो ।
चेकजाँचका क्रममा गाडीमा नगद भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाडीमा शंकास्पद वस्तु फेला परेपछि मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेकजाँचका क्रममा चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको थियो ।
दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।