• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इरानी आक्रमणको भिडियो शेयर गरेको भन्दै युएईमा एक नेपालीसहित १० विदेशी पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा इरानी आक्रमणको भ्रामक र बनावटी भिडियो क्लिपहरू शेयर गरेको आरोपमा युएईमा एक नेपालीसहित १० जना विदेशी पक्राउ परेका छन् । युएईको अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार उक्त आरोपमा पर्नेहरुमा नेपालीसहित इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बंगलादेश र क्यामरुनका एक/एक तथा भारतका २ जना नागरिक छन् ।

पक्राउ पर्नेहरूको परिचय भने खुलाइएको छैन ।

पक्राउ पर्नेहरूमाथि इरानी हमलाका तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा शेयर गरेको आरोप लगाइएको छ । उनीहरूले इरानले युएईमाथि ड्रोन आक्रमण हुँदाको तथा आक्रमण रोक्ने वायु रक्षा प्रणालीको वास्तविक फुटेज देखाउने भिडियो क्लिपहरू शेयर गरेको बताइएको छ। यस्तै, केही भिडियोहरूमा एआईको प्रयोग गरी युएईका विभिन्न भागहरूमा विस्फोट, प्रमुख स्थलहरूमा आक्रमण वा ठुला आगलागीका झूटा क्लिप्सहरु समेत देखाइएको युएईका अधिकारीहरूले बताएका छन् ।

युएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल शम्सीले उनीहरूको त्यस कार्यले राष्ट्रिय सुरक्षालाई असर गर्न सक्ने भन्दै द्रुत गतिमा मुद्दा अघि बढाउन निर्देशन दिएका छन्।

युएईमा सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरे वा सही सूचना नै शेयर गरेको भए पनि त्यसले युएईको ‘राष्ट्रिय हित’मा असर पर्न सक्ने देखिए कडा कानुनी कारबाहीको व्यवस्था छ ।

युएईको कानुनअन्तर्गत सार्वजनिक सुरक्षा वा सामाजिक स्थिरतालाई खतरामा पार्ने सूचना फैलाउने कार्यमा दोषी ठहरिएकाहरूलाई न्यूनतम एक वर्षको जेल सजाय र कम्तीमा १ लाख दिराम जरिवाना हुन सक्छ।