काठमाडौँ । शिक्षा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला ‘जुरेली’ नामक ‘एड-टेक’ स्टार्टअप कम्पनीले विद्यालय सञ्चालन र विद्यार्थीको सिकाइ प्रणालीमा व्यापक सुधार ल्याउने उद्देश्यसहित नयाँ पहल अघि बढाएको छ । ‘स्कुल वान’ र ‘आस्क ट्युटर’ जस्ता २ प्रमुख प्लेटफर्ममार्फत विद्यालय सञ्चालन र विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने काम गरिरहेको कम्पनीले नेपालबाहेक भारतमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ ।
कम्पनीका अनुसार ‘स्कुल वान’ एक पूर्ण डिजिटल तथा एआई-सञ्चालित विद्यालय व्यवस्थापन प्रणाली हो । यसले विद्यालयका दैनिक प्रशासनिक तथा शैक्षिक कार्यहरूलाई स्वचालित बनाउँछ । यसले रियल-टाइम ड्यासबोर्डमार्फत बक्यौता संकलन र समग्र वित्तीय अवस्थाको निगरानी गर्ने काम गर्छ । यसको सहायताले ह्वाट्सएप, एसएमएस, मोबाइल एप र इमेलमार्फत स्वचालित रिमाइन्डर पठाएर शुल्क संकलनलाई छिटो तथा प्रभावकारी बनाउन सकिन्छ ।
यसबाहेक, परीक्षा सञ्चालन, नतिजा प्रकाशन, अभिभावक-शिक्षकबिचको सञ्चार, लेखा व्यवस्थापन, हाजिरी विवरण अद्यावधिकसँगै विभिन्न प्रशासनिक कामहरू छिटो सम्पन्न गर्न मद्दत पुग्छ ।
त्यसैगरी, ‘आस्क ट्युटर’ प्लेटफर्मले विद्यार्थीको सिकाइ प्रक्रियालाई एआईमार्फत विश्लेषण गरी व्यक्तिगत रूपमा सुधार गर्न सहयोग पुर्याउँछ । यसमा विद्यार्थीले पाठ्यक्रम अनुसार अध्ययन, अभ्यास प्रश्न हल गर्ने तथा आफ्नो कमजोरी र सबल पक्षबारे जानकारी प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।
कम्पनीका ‘चिफ प्रडक्ट अफिसर’ इन्दु शर्माले यी दुई प्रणालीको संयोजनले विद्यालयहरूलाई पूर्ण रूपमा डिजिटल बनाउनुका साथै शिक्षण-सिकाइ प्रक्रियालाई डेटा-आधारित बनाउने र विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन सहयोग पुग्ने बताए ।
शर्माले भने, “नेपालको शिक्षा प्रणालीका चुनौतीलाई मध्यनजर गर्दै विकास गरिएको यी प्रविधि विद्यार्थीहरू तथा विद्यालयहरूको नतिजा अभिवृद्धिमार्फत नेपालको समग्र शैक्षिक गुणस्तरलाई थप उकास्न निकै महत्त्वपूर्ण छ ।”