• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एपस्टीन प्रकरणका पीडितलाई राहत दिन ७.२५ करोड डलरको राहत कोष स्थापना

काठमाडौँ । विश्वभर चर्चामा रहेको कुख्यात यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित प्रकरणमा नयाँ खुलासासँगै दबाब बढिरहेको छ । पछिल्ला कागजात र तथ्य बाहिरिँदै जाँदा विश्वका ठूला नेता र अर्बपतिहरू समेत तनावमा परेका छन् ।

यसैबीच, बैंक अफ अमेरिका र पीडित महिलाका कानुनी प्रतिनिधिबीच भएको सहमतिअनुसार करिब ७.२५ करोड डलर बराबरको राहत कोष स्थापना गरिएको छ । उक्त कोषबाट पीडित महिलालाई क्षतिपूर्ति प्रदान गरिने जनाइएको छ ।

अदालतका अनुसार यो कोषबाट करिब ६० देखि ७५ जना महिलाले लाभ लिन सक्नेछन्, जसलाई एपस्टीनले सन् २००८ पछि यौन शोषण गरेको आरोप छ । अमेरिकी जिल्ला न्यायाधीश जेड एस. राकोफले सहमतिलाई प्रारम्भिक स्वीकृति दिएका छन् भने अन्तिम सुनुवाइ आगामी अगस्ट २७ मा हुने तय गरिएको छ । साथै, उनले सबै पीडितसम्म कोषबारे जानकारी पुर्‍याउन निर्देशन दिएका छन्, ताकि कोही पनि छुट्न नपरोस् ।

पीडित पक्षका वकिलहरूले बैंक अफ अमेरिकाले एपस्टाइनका शंकास्पद आर्थिक कारोबारलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरूले सन् २००८ देखि २०१९ सम्म एपस्टाइनले महिलाहरूको शोषण गर्दा बैंकले आवश्यक निगरानी नगरेको दाबी गरेका छन् । यद्यपि बैंकले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको स्पष्ट पारेको छ । तर, यो सहमतिले मुद्दा टुंग्याउन र पीडितलाई केही राहत दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

जेफ्री एपस्टीनलाई सन् २०१९ जुलाईमा अवैध यौन व्यापारको आरोपमा पक्राउ गरिएको थियो । तर त्यसको एक महिनापछि अगस्टमा न्यूयोर्कस्थित जेलमा उनको मृत्यु भयो, जसलाई आत्महत्या भनिएको थियो । त्यसयता पनि यस प्रकरणमा नयाँ-नयाँ तथ्य बाहिरिँदै आएका छन् ।

सम्बन्धित समाचार

एपस्टीन फाइल्सको धक्का : ८० शक्तिशाली व्यक्तिमाथि अनुसन्धान सुरु

एपस्टिन सेक्स स्क्यान्डल: ट्रम्प र मेलानियाको तस्बिर फाइलबाट गायब, अमेरिकामा राजनीतिक हलचल

कुख्यात यौन तस्करको फाइलमा कैयौँ रहस्य: डोनाल्ड ट्रम्प, बिल क्लिटनसहित चर्चित व्यक्ति संलग्न ! (एपस्टिन प्रकरणको टाइमलाइनसहित)