काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.७५ मा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले शुक्रबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष आर्थिक वृद्धि दर निकै खुम्चिने अनुमान गरेको हो ।
एडीबीले गरेको यो प्रक्षेपण सरकारले यस वर्षका लागि तय गरेको ६ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्यको तुलनामा निकै कम हो ।
एडीबीले गत भदौमा भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरता, पश्चिम एसियामा जारी द्वन्द्व र प्राकृतिक कारणहरूले अर्थतन्त्रमा बहुआयामिक दबाब सिर्जना गरेको भन्दै नेपालको अर्थतन्त्रमा सुस्त रहने उल्लेख गरेको हो
विशेषगरी, मध्यपूर्वमा बढ्दै गइरहेको तनावले पेट्रोलियम पदार्थको मूल्य बढाएको र यसले नेपालमा ढुवानी, उत्पादन र सेवा क्षेत्रको लागत बढाएको एडीबीको निश्कर्ष छ । यसको प्रभाव उपभोक्ता मुद्रास्फीतिमा समेत देखिने र यस वर्ष महँगी दर करिब ३।७ प्रतिशत रहने अनुमान गरिएको छ।
यस्तै, यस वर्ष कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धिदर समेत सुस्त हुने अनुमान गरिएको छ । बाढी, अनियमित वर्षा र धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्र कमजोर बनेको तथा निर्माण क्षेत्रसँगै लगानी सुस्त हुँदा औद्योगिक उत्पादन समेत प्रभावित भएको उल्लेख छ। पर्यटन आगमनमा कमी र रेमिटेन्सको सम्भावित घट्दो वृद्धिदरले सेवा क्षेत्रलाई पनि दबाबमा राख्ने देखिएको एडीबीको ठहर छ ।
नेपालको अर्थतन्त्रमा रेमिटेन्सको ठूलो भूमिका रहेको र पश्चिम एसियाको द्वन्द्व लम्बिँदै जाँदा त्यसले वैदेशिक रोजगारीका अवसर घट्न सक्ने र रेमिटेन्समा प्रत्यक्ष असर गर्ने जोखिम रहेको एडीबीको भनाई छ ।
यद्यपि, एडीबीले सन् २०२६ मा अर्थतन्त्र सुस्त रहेपनि आगामी वर्ष २०२७ मा भने आर्थिक वृद्धि दर करिब ५।३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।