• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

९ महिनामा सरकारको आम्दानी ९ खर्ब, खर्च १० खर्ब ५९ अर्ब

काठमाडौँ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा सरकारले ९ खर्ब ७१ अर्ब रुपैयाँ आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले गएको साउनदेखि चैत मसान्तसम्म लक्ष्यको ५९ प्रतिशत आम्दानी गरेको हो ।

सरकारले यस अवधिमा राजस्व बापचत कुल ८ खर्ब ८६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो कुल वार्षिक लक्ष्यको ५९ प्रतिशत हो ।

यस अवधिमा वैदेशिक अनुदान प्राप्तिमा सरकार निकै पछि देखिन्छ । ९ महिनामा १५ अर्ब मात्रै वैदेशिक अनुदान प्राप्त भएको छ । यो लक्ष्यको तुलनामा केवल २९ प्रतिशत हो ।

उता, सरकारले यस अवधिमा गरेको आम्दानी भन्दा धेरै चालु र वित्तिय खर्चमै उपभोग गरेको देखिएको छ । यस अवधिमा चालु खर्चबापत ७ खर्ब ४७ अर्ब रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको ६३ प्रतिशत हो ।

यस्तै, यस अवधिमा वित्तिय खर्चतर्फ वार्षिक लक्ष्यको ५७ प्रतिशत खर्च भइसकेको देखिन्छ । वित्तियतर्फ सरकारले गएको ९ महिनामा २ खर्ब १६ अर्ब रुपैयाँ खर्च गरेको हो ।

चालु तथा वित्तिय खर्च बढ्दै जाँदा पूँजीगत खर्च (विकास खर्च) को अवस्था भने नाजुक छ । चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा समेत सरकारले वार्षिक लक्ष्यको २३ प्रतिशत मात्र विकास खर्च गर्न सकेको हो । यस अवधिमा ९६ अर्ब १९ करोड रुपैयाँ मात्र विकास खर्च भएको छ । यस वर्ष विकास खर्चका लागि सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।