काठमाडौँ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्स प्रा.लि.ले आफ्ना सञ्चालकहरूमाथि भइरहेको अनुसन्धानका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले जारी कानुनी तथा नियामकीय प्रक्रियालाई पूर्ण सम्मान गर्ने र अनुसन्धानमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेपछि होल्डिङ्सले यस्तो विज्ञप्ति जारी गरेको हो ।
सञ्चार माध्यममा आएका समाचार र सार्वजनिक टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै होल्डिङ्सले अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात, तथ्याङ्क र सूचना उपलब्ध गराउने स्पष्ट पारेको छ। ‘कानुनको शासनमा दृढ विश्वास राख्ने एक जिम्मेवार संस्थाको नाताले हामी सम्बन्धित निकायहरूले माग गरेका सम्पूर्ण विवरण उपलब्ध गराई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले हाल अनुसन्धान प्रक्रिया जारी रहेको र कुनै अन्तिम निष्कर्ष वा न्यायिक निर्धारण भइनसकेको स्पष्ट पारेको छ। सत्यतथ्य स्थापना गर्ने अधिकार न्यायिक प्रक्रियामा निहित रहेको भन्दै होल्डिङ्सले सोही प्रक्रियाबाट आउने जुनसुकै निष्कर्षलाई पूर्ण सम्मान गर्ने बताएको छ।
साथै, प्रचलित कानुनअनुसार कुनै कमजोरी वा त्रुटि देखिएमा आवश्यक सुधारात्मक कदम चाल्न र कानुन बमोजिम जिम्मेवारी वहन गर्न आफूहरू तयार रहेको समेत कम्पनीले जनाएको छ।
दशकौंदेखि औद्योगिक लगानी, हजारौं रोजगारी सिर्जना र राजस्व संकलनमार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको दाबीसहित जगदम्बा होल्डिङ्सले हालको परिस्थितिबाट उत्पन्न चिन्ताप्रति आफूहरू संवेदनशील रहेको बताएको छ। व्यावसायिक सञ्चालनको निरन्तरता सुनिश्चित गर्न र सरोकारवालाहरूको हित संरक्षणका लागि बैंक, नियामक निकाय र सरकारी संस्थाहरूसँग नजिकबाट समन्वय गरिरहेको जानकारी विज्ञप्तिमा दिइएको छ।
होल्डिङ्सले सुशासन, पारदर्शिता र नैतिक व्यावसायिक आचरण आफ्ना प्रमुख मूल्य मान्यता रहेको भन्दै आन्तरिक नियन्त्रण प्रणाली र अनुपालन संयन्त्रलाई अझ सुदृढ बनाउने संकल्प समेत गरेको छ।
कानुनी प्रक्रियाको अन्तिम निष्कर्ष नआएसम्म अपुष्ट जानकारीमा आधारित हतारो निष्कर्ष ननिकाली धैर्यता र संयमता अपनाइदिनुहुन कम्पनीले आफ्ना साझेदार, लगानीकर्ता, कर्मचारी र शुभचिन्तक लगायत सबै सरोकारवालाहरूलाई विनम्र अनुरोध गरेको छ।