• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

सार्वजनिक यातायातको भाडा बढाउन व्यावसायीको माग

काठमाडौँ । यातायात व्यावसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेका छन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य निरन्तर बढ्दै गएको अवस्थामा सार्वजनिक यातायातको भाडा पुनः समायोजन गर्न सरकारसँग माग गरेको हो ।

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य पटक–पटक वृद्धि हुँदा यातायात सञ्चालनमा गम्भीर असर परेको उल्लेख गरिएको छ ।

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा लगातार चाप परेको र त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको महासंघको भनाइ छ । यसले यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालन खर्च उल्लेखनीय रूपमा बढाएको र व्यवसायीहरू आर्थिक दबाबमा परेको विज्ञप्तिमा जनाइएको छ।

महासंघले २०६५ सालदेखि लागू गरिएको वैज्ञानिक भाडा समायोजन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेको छ । सो प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशतभन्दा बढी बढेमा भाडा स्वचालित रूपमा समायोजन हुनुपर्ने व्यवस्था रहे पनि व्यवहारमा लागू नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । त्यसैले तत्काल भाडादर पुनरावलोकन गर्न वा इन्धनको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग आग्रह गरिएको छ ।

यसैबीच, महासंघले सदस्य संस्थाहरूलाई इन्धन खपत घटाउने उपाय अपनाउन, अनावश्यक प्रतिस्पर्धाबाट टाढा रहन तथा यात्रुको मागअनुसार सेवा सञ्चालन गर्न समेत निर्देशन दिएको छ । साथै, दीर्घकालीन समाधानका लागि वैकल्पिक ऊर्जा वा अन्य व्यवस्थाको खोजी गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।