काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबार प्रणालीमा सुधार गर्दै आगामी वैशाख ७ गतेदेखि नयाँ व्यवस्था लागू गर्ने भएको छ । नेप्सेले विनियमावली संशोधन गर्दै सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था गरेको हो ।
यसअघि यस्तो सीमा १० प्रतिशत थियो ।
नेप्सेले ‘अफ्टर मार्केट अर्डर’ (एएमओ) प्रणाली समेत लागू गर्ने भएको छ । यस व्यवस्था अनुसार लगानीकर्ताले नियमित कारोबार समय बाहिर पनि खरिद–बिक्रीका अर्डर राख्न सक्नेछन् । यस्ता अर्डरहरू अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको १५ प्रतिशतको सीमाभित्र रहेर प्रविष्ट गर्नुपर्नेछ र कारोबार सुरु भएपछि प्रणालीमा समावेश हुनेछन् ।
प्रारम्भिक कारोबार सत्र (प्रि–ओपन) मा समेत परिवर्तन गरिएको छ । बिहान १०:३० देखि १०:४५ बजेसम्म सञ्चालन हुने यस सत्रमा अब मूल्य ५ प्रतिशतसम्म घटबढ गर्न पाइनेछ । यसअघि यस्तो सीमा २ प्रतिशत मात्रै थियो ।
यस्तै, नियमित कारोबार सत्रमा अर्डर प्रविष्ट गर्दा मूल्य सीमा २ प्रतिशतबाट बढाएर ३ प्रतिशत कायम गरिएको छ ।
सर्किट ब्रेकर प्रणालीलाई पनि परिमार्जन गर्दै दुई तहमा सीमित गरिएको छ । कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ । त्यसपछि परिसूचक ८ प्रतिशतले घटे वा बढेमा सो दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था गरिएको छ ।
उक्त संशोधित विनियमावलीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिइसकेको छ । नेप्सेले भने आवश्यक प्राविधिक तयारी पूरा गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ ।