काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालले १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्मको यो वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ४० प्रतिशतले बढेको हो ।
विभागका अनुसार यस अवधिमा आयात १३ दलशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि चैतसम्ममा नेपाललले कुल १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको हो । यस अवधिमा सबैभन्दा धेरै रकम इनधनको आयातमा मुलुकबाट बाहिरिएको छ । ९ महिनामा डिजेल मात्रै १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । यस्तै, ७६ अर्ब रुपैयाँको सोयाबिन तेल, ५० अर्ब रुपैयाँ बढीको पेट्रोल र ४१ अर्ब रुपैयाँ बराबरको ग्यास आयात भएको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा नेपालको निर्यातमा समेत केही वृद्धि देखिएको छ । ९ महिनामा नेपालले कुल २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको बस्तु निर्यात गरेको हो । यस अवधिमा नेपालबाट ९० अर्ब ७१ अर्ब बराबरको सोयाबिन तेल निर्यात भएको छ । यस्तै, १० अर्ब ७० करोडको अलैँची, ७ अर्ब ४४ करोडको गलैँचा र ६ अर्ब ९४ करोडको सूर्यमुखी तेल निर्यात भएको छ । यो निर्यात अघिल्लो वर्षको सोही अवधिको दाँजोमा १८ दशमलव ४६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
यद्यपि, आयात र निर्यातबिचको ठुलो खाडलका कारण गएको ९ महिनामा मुलुकले १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ०४ प्रतिशतले बढी हो । गत वषको सोही अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ थियो ।
यो आँकडाले वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ९९ प्रतिशत र निर्यातको हिस्सा १३ दशमलव ०१ प्रतिशत रहेको देखाएको छ । विभागको तथ्यांकले यस अवधिमा नेपालले १६७ देशसँग व्यापार गरेको देखाएको । त्यसमध्ये ३५ देशसँगको व्यापारमा नाफा गर्दा १२२ देशसँग भने घाटा व्योहोरको छ ।