काठमाडौँ । “के पञ्जाबका मुख्यमन्त्रीले मदिरा पिएर विधानसभामा गएका हुन् ?”
यो हेडलाइन अहिले अधिकांश भारतीय मिडियामा छाएका छन् ।
यस हेडलाइनको पृष्ठभूमि भारतको पञ्जाब विधानसभाको शुक्रबारको एक घटनासँग जोडिन्छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार पञ्जाब विधानसभाको विशेष अधिवेशन आव्हान गरिएको थियो । अधिवेशनमा मुख्यमन्त्री भगवन्त मानले सम्बोधन गरेका थिए ।
तर उनको सम्बोधन र प्रस्तुत विषयहरुलाई लिएर विपक्षी दलहरुले उनीमाथि मदिरा सेवन गरेर आएको आरोप लगाएपछि प्रदेश सभामा हंगामा मच्चिन पुग्यो ।
विपक्षी नेता तथा काँग्रेसका वरिष्ठ नेता प्रताप सिंह बाजवाले मुख्यमन्त्रीमाथि नशा सेवनको आरोप लगाउँदै अल्कोहल सेवन गरे नगरेको परीक्षण (ब्रेथ एनालाइजर) गर्न माग गरेका थिए ।
यसका साथै उनले सबै विधायकहरूको ब्रेथ एनालाइजर गर्ने हो भने आफूहरु तयार रहेको समेत बताए ।
उनले सभामुखसँग भने, “राज्यको प्रमुख व्यक्तिमाथि यस्तो गम्भीर आरोप लागेको अवस्थामा सबै जनप्रतिनिधिको परीक्षण आवश्यक हुन्छ, त्यसैले स्पीकरलाई यस विषयमा कदम चाल्न आग्रह गर्दछु ।”
कांग्रेस नेता सुखपाल सिंह खैराले पनि सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री नशा लिएको अवस्थामा देखिएको आरोप दोहोर्याउँदै आफ्नो पार्टीले सदन बहिष्कार गरेको जानकारी दिएका छन् । उनले आफूहरू समेत परीक्षणका लागि तयार रहेको बताउँदै पारदर्शी छानबिनको माग समेत गरे ।
शिरोमणि अकाली दलले पनि मुख्यमन्त्रीको कडा आलोचना गर्दै उक्त घटना ‘लज्जास्पद’ भएको टिप्पणी गरेको छ । पार्टीले सार्वजनिक रूपमा डोप टेस्ट गराउन माग गर्दै मुख्यमन्त्रीको व्यवहारले सदनको मर्यादा घटाएको समेत आरोप लगाएको छ ।
कांग्रेस विधायक दलले सभामुखलाई औपचारिक पत्र लेख्दै एक घण्टाभित्र सबै विधायकहरूको अल्कोमीटर परीक्षण सुरु गर्न, जसको सुरुवात मुख्यमन्त्रीबाट गर्नुपर्ने, साथै निष्पक्षताको लागि चण्डीगढको स्वतन्त्र मेडिकल टोलीबाट जाँच गरिनुपर्ने माग गरेको छ ।
यस विवादमा भारतीय जनता पार्टीले समेत परीक्षणको माग गरेको छ ।
भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष सुनील जाँखडले ब्रेथ एनालाइजर परीक्षणको मागलाई समर्थन गरेका छन् ।
उता, सत्तारुढ आम आदमी पार्टीले भने विपक्षी दलहरुको आरोपहरूलाई खेदजनकसँगै दुर्भाग्यपूर्ण भन्दै आरोपको खण्डन गरेको छ । पार्टीका पञ्जाब अध्यक्ष तथा मन्त्री अमन अरोडाले श्रमिकहरूको सम्मानका लागि विशेष अधिवेशन बोलाइएको भएपनि विपक्षीले निराधार आरोप लगाएर सदनको गरिमा घटाइरहेको बताए ।
मुख्यमन्त्री भगवन्त मानले भने अधिवेशनलाई श्रमिक दिवसमा केन्द्रित गर्न आग्रह गर्दै अनावश्यक विवाद नगर्न सदस्यहरूलाई अपिल गरेका छन् ।
यद्यपि, मुख्यमन्त्री मानले मदिरा सेवन गरेर प्रदेश सभा गए नगएको बारे पुष्टि भएको छैन् । उनीमाथि लागेको आरोपबारे उनको औपचारिक प्रतिक्रिया समेत सार्वजनिक भइसकेको छैन ।