काठमाडौँ । अमेरिकाले आफ्ना नेटो साझेदार जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ। यो कदमसँगै युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे फेरि बहस चर्किएको छ।
यस निर्णयअघि जर्मनीका चान्सलर फ्रेडरिक मर्जले ट्रम्प नेतृत्वको अमेरिकी सरकारको कडा आलोचना गरेका थिए। उनले पछिल्लो महिनामा भएको एक कार्यक्रममा अमेरिका सँग स्पष्ट योजना नभएको टिप्पणी गर्दै भनेका थिए, ‘अमेरिकालाई नै थाहा छैन कि यो युद्धबाट कसरी बाहिर निस्किने।’ उनले इरान वार्ता टार्न माहिर रहेको भन्दै अमेरिकालाई परिणामविहीन दौडधुपमा लाग्नुपरेको र यसले अमेरिकाको छवि कमजोर बनाएको टिप्पणी गरेका थिए।
यी अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका थिए। उनले मर्जलाई लक्षित गर्दै उनी ‘धेरै खराब काम गरिरहेका व्यक्ति’ भएको आरोप लगाएका थिए। ट्रम्पका अनुसार मर्जलाई वास्तविक अवस्थाको बुझाइ छैन र उनी इरानसँगको विषयमा गलत धारणा राख्छन्।
ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने विचार भइरहेको संकेत दिएका छन्। उनका अनुसार यी देशहरूले इरानविरुद्ध अमेरिकाको पूर्ण साथ नदिएको र हॉर्मुज जलमार्गसम्बन्धी सञ्चालनमा सहभागी हुन अस्वीकार गरेको कारण असन्तुष्टि बढेको हो।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार जर्मनीबाट सैनिक फिर्ता प्रक्रिया पूरा हुन ६ देखि १२ महिना लाग्न सक्छ। बीबीसीका अनुसार पछिल्लो वर्ष डिसेम्बरसम्म जर्मनीमा ३६ हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ थिए, जुन जापानपछि सबैभन्दा ठूलो संख्या हो। जापानमा करिब ५५ हजार सैनिक छन्। इटालीमा करिब १२ हजार र बेलायतमा करिब १० हजार अमेरिकी सैनिक रहेका छन्।
ट्रम्पले पहिले पनि जर्मनीबाट सैनिक घटाउने प्रस्ताव अघि सारेका थिए। त्यसबेला उनले जर्मनीले नेटोको रक्षा खर्च लक्ष्य पूरा नगरेको आरोप लगाएका थिए। सन् २०२० मा १२ हजार सैनिक हटाउने योजना अघि बढाइएको थियो तर अमेरिकी संसद्ले रोक लगाएको थियो र पछि बाइडेन प्रशासनले उक्त निर्णय उल्ट्याएको थियो।
यसैबीच, पछिल्लो वर्ष अमेरिकाले रोमानियामा पनि सैनिक संख्या घटाउने निर्णय गरेको थियो। यो ट्रम्पको रणनीतिक सोच अन्तर्गत युरोपबाट ध्यान घटाएर इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रित हुने योजनासँग जोडिएको बताइएको छ। रोमानियाका रक्षा मन्त्रीले अमेरिकाले आफ्नो सुरक्षा क्षमतामा बढी ध्यान दिन सुझाव दिएको बताएका थिए।
अमेरिकाको यो निर्णयको देशभित्र पनि केही रिपब्लिकन नेताहरूले आलोचना गरेका छन्। यता रुससँग बढ्दो तनावका बीच पूर्वी युरोपका धेरै देशहरूले पनि अमेरिकी सैनिक घटाउने कदमलाई लिएर चिन्ता व्यक्त गरेका छन्।