काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई केन्द्रमा राख्दै सांसद र मन्त्रीहरूबीच संयुक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । आज अपराह्न ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने उक्त कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल सहभागी हुनेछन् ।
पार्टीका अनुसार बजेट तर्जुमा अघि नै पूर्वबजेट छलफलका लागि कार्यक्रम राखिएको हो । पछिल्लो समय सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रम बजेटमा समावेश गर्न व्यक्तिगत रूपमा दबाब दिँदै आएका छन् । बजेट तयारी जारी रहेको र अन्तिम रूप अझै तय नभइसकेको अवस्थामा यस्तो दबाब बढेपछि पार्टीले सामूहिक रूपमा छलफल गराउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूसँगको प्रारम्भिक छलफल सके पनि कार्यक्रम सिफारिसको प्रक्रिया जारी रहँदा सांसदहरूबीच असन्तुष्टि बढ्न सक्ने देखिएको छ । यसलाई व्यवस्थापन गर्न र साझा समझदारी बनाउन रास्वपाले अन्तरक्रिया आयोजना गरेको जनाएको छ ।