काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
नेपालस्थित भारतीय दूतावासका अनुसार विद्यालय भवन निर्माण परियोजनाको शिलान्यास दूतावासका प्रथम सचिव नारायण सिंहले गरेका हुन् ।
यो परियोजना भारत सरकारको ‘हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको हो । परियोजनाका लागि आवश्यक आर्थिक सहयोग भारत सरकारले उपलब्ध गराउने बताइएको छ ।
भारतीय दूतावासले नेपालका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामुदायिक विकाससँग सम्बन्धित साना तर प्रभावकारी परियोजनामार्फत सहयोग गर्दै आएको जनाएको छ ।