• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

त्रिभुवन विश्वविद्यालयको ६ लाख ५३ हजार वर्गमिटर जग्गा अतिक्रमणमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६ लाख ५३ हजार वर्गमिटर जग्गा अतिक्रमणमा परेको पाइएको छ । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३२ हजार वर्गमिटर, भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटर र अन्य ६ लाख ५३ हजार वर्ग मिटर समेत गरी १ करोड ४७ लाख ८४ हजार वर्गमिटर जग्गा रहेकोमा ६ लाख ५३ हजार वर्गमिटर जग्गा अतिक्रमणमा परेको उल्लेख गरेको हो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार सुदूरपश्चिम विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको २८० बिघा जग्गामध्ये २०० बिघा जग्गा समेत अतिक्रमित भएको छ ।

पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाको विभिन्न वडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त १ हजार २७२ रोपनी १३ आना २ पैसा जग्गामध्ये ६२५ रोपनी भन्दा बढी अतिक्रमण भएको छ ।

यस्तै, महालेखाले नेपाल संस्कृत विश्वविद्यालयको नाममा करिब १ हजार ६६२ बिघा ३ कठ्ठा ९.५ धुर जग्गा रहेकोमा सोका अतिरिक्त १२ बिघा १९ कठ्ठा ४.५ धुर जग्गा दर्ता हुन बाँकी रहेको बताएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले नेपाल सरकारबाट भोगाधिकारको लागि स्वीकृति प्राप्त मोरङ जिल्लामा रहेको ८०५ बिघा जग्गा सीमाङ्कन गरी घेराबारा गर्ने कार्य सम्पन्न हुन नसकेको, सो जग्गाको नापी तथा सीमाङ्कनको कार्य सम्पन्न नभएको कारण जग्गाको उचित संरक्षण हुन नसकेको, राजर्षि जनक विश्वविद्यालय विश्वविद्यालय र मातहतमा रहेको करिब ६७.४५ बिघा भोगाधिकार र ३९.५५ बिघा लिजमा प्राप्त भएकोमा भोगाधिकार र लिजबाट प्राप्त जग्गाको अभिलेख नराखेको देखिएको छ ।

विश्वविद्यालयहरूको जग्गा अतिक्रमण बढेपछि महालेखाले विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लगत राखी सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नका साथै आयमूलक कार्यक्रममा उपयोग गर्नु आवश्यक रहेको बताएको छ ।

यसबाहेक, विश्वविद्यालयको नाममा रहेको सम्पत्तिको एकीकृत लगतका साथै दर्ता गरी सम्पत्तिको संरक्षण तथा परिचालन गर्नुपर्ने बताइएको छ ।