काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ । खेलमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो ।
अमेरिकाका लागि संजय कृष्णमुर्तिले सर्बाधिक ५६ रन बनाएका थिए भने शयान जहागिरले २७ र शेहान जयसूर्याले २६ रन बनाएका थिए ।
त्यस्तै, नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २-२ विकेट लिएका थिए । त्यसैगरी, सोमपाल कामीले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाएका थिए ।
उनको यस सिरिजमा लगातार दोस्रो अर्धशतक हो । तेस्रो एकदिवसीय खेल खेलिरहेका इशानले दुई अर्धशतक बनाएर नेपालको मिडल अर्डरलाई बलियो बनाएका थिए ।
त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । कप्तान रोहित पौडेलले ४६, आसिफ सेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५, सोमपाल कामीले ५ र आरिफ सेखले अविजित १८ रन बनाएका थिए ।
अमेरिकाका बलर शुभम रन्जानेले ३ विकेट लिएका थिए भने रुशील उग्राकर र मिलिन्द कुमारले एक–एक विकेट लिएका थिए ।
यो जितपछि नेपालको २८ खेलमा २४ अंक भएको छ र नेपाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको २८ खेलमा ३८ अंक रहेको छ ।