• २०८३ जेठ २९
  • 2026 June 12, Friday

ट्रम्पको दाबी अस्वीकार गर्दै इरानले भन्यो- कुनै सम्झौता भएको छैन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सम्झौता भएको दाबी गरे पनि इरानले उक्त दाबी अस्वीकार गरेको छ ।

इरानले अमेरिकासँग अहिलेसम्म कुनै पनि अन्तिम सम्झौता नभएको स्पष्ट पारेको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौतासम्बन्धी मस्यौदा हाल सम्बन्धित निकायहरूमा अध्ययन र समीक्षा प्रक्रियामा रहेको बताएका छन् । उनले यसबारे अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेका छन् ।

उनका अनुसार यो विषय अत्यन्तै संवेदनशील भएकाले सम्बन्धित निर्णय गर्ने निकायहरूले गम्भीर रूपमा छलफल गरिरहेका छन् । बघाईले वार्ताको मस्यौदाको ठूलो हिस्सा पहिले नै टुंगिसकेको भए पनि वार्ताका क्रममा अमेरिकी पक्षले पटक–पटक आफ्नो अडान परिवर्तन गरेको आरोप समेत लगाएका छन् ।

यसअघि ट्रम्पले इरानसँग सहमति भएको भन्दै तत्कालका लागि आक्रमण रोकेको बताएका थिए ।

ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौताका लागि स्वीकृति दिएको दाबी गरेका थिए ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि परमाणु हतियार नराख्ने सहमति जनाएको र सम्झौता कार्यान्वयनमा आएपछि होर्मुज जलडमरूमध्य पनि पुनः खुला गरिने बताएका हुन् ।

त्यसअघि ट्रम्पले इरानमाथि भीषण बमबारी गर्ने तथा इरानको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापुमाथि नियन्त्रण कायम गर्ने चेतावनी दिएका थिए । तर त्यसपछि सामाजिक सञ्जालमार्फत उनले इरानविरुद्धका नयाँ हवाई आक्रमण र बमबारीका योजना रद्द गरिएको जानकारी दिएका थिए ।