काठमाडौँ। एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। बिहीबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले यसअघि आफैँले गरेको अनुमानविपरीत यस वर्ष नेपालको आर्थिक वृदिदरमा उल्लेख्य सुधार आउने विश्लेषण गरेको हो।
एडीबीले गत अप्रिल महिनामा यो वर्ष नेपालले २.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान सार्वजनिक गरेको थियो । तर जलविद्युत् क्षेत्र तीव्र विस्तार भएको र उत्पादन समेत वृद्धि भएको भन्दै एडीबीले वृदिदर बढ्ने अनुमान गरेको हो।
यद्यपि, एडीबीले सन् २०२७ का लागि वृद्धिदरको प्रक्षेपण भने ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको छ। मध्यपूर्वको द्वन्द्वका कारण पर्यटन आगमनमा घट्न सक्ने, खाडी मुलुकमा रोजगारीमा रहेका नेपाली श्रमिक प्रभावित हुन सक्ने तथा रेमिटेन्समा प्रभावित हुन सक्ने आँकलन गर्दै एडीबीले आगामी वर्ष आर्थिक गतिविधिमा दबाब पर्ने विश्लेषण गरेको हो।
यस्तै, खाद्यान्न आपूर्तिमा सुधारका कारण सन् २०२६ मा मुद्रास्फीति ३.२ प्रतिशतमा सीमित रहने एडीबीको अनुमान छ। तर इन्धनको मूल्य वृद्धि र आन्तरिक माग विस्तारका कारण सन् २०२७ मा मुद्रास्फीति बढेर ५ प्रतिशत पुग्ने प्रक्षेपण समेत गरिएको छ।
सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृदिदरको लक्ष्य लिएको बेला एडीबीले भने त्यो भन्दा निकै कम मात्र आर्थिक वृदिदर हुने प्रक्षेपण गरेको हो।
नेपालको आर्थिक वृद्धिको यो प्रक्षेपण दक्षिण एसियामा भारत, भुटान र श्रीलङ्कापछिको उच्च हो। एडीबीका अनुसार दक्षिण एसियाको समग्र आर्थिक वृद्धि सन् २०२६ मा ६ प्रतिशत रहने छ।
दक्षिण एसियामध्ये सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको रहने अनुमान छ। यस वर्ष भारतको वृद्धिदर ६.६ प्रतिशत रहने आँकलन एडीबीको छ। यस्तै, भुटानको ६.५ प्रतिशत र श्रीलङ्काको ४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
यस्तै, बंगलादेश र पाकिस्तानको समान ३.७ प्रतिशत, अफगानिस्तानको २.३ प्रतिशत र माल्दिभ्समा १ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरिएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व, ऊर्जा बजारमा आएको अवरोध, बढ्दो मुद्रास्फीति, आपूर्ति शृङ्खलामा देखिएको समस्या तथा विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितताका कारण विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि यसअघि गरिएको अनुमानभन्दा सुस्त हुने एडीबीले जनाएको छ।