काठमाडौं नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीबजारमा देखिएका वर्तमान समस्या समाधान तथा लगानीकर्ताको हित संरक्षणका लागि आगामी एक साताभित्र समयबद्ध कार्ययोजनासहितको ‘पुँजीबजार विकास मार्गचित्र’ सार्वजनिक गर्ने भएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै बोर्डले बजार सुधार, लगानीकर्ता संरक्षण र नियामकीय व्यवस्था सुदृढ बनाउन विस्तृत गृहकार्य भइरहेको उल्लेख गर्दै मार्गचित्र सार्वजनिक गर्ने र लगत्तै कार्यान्वयनमा लैजाने तयारी गरिएको जनाएको हो।
बोर्डले धितोपत्र बजारमा देखिएका विभिन्न समस्या तथा लगानीकर्ताबाट प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिइएको समेत जनाएको छ।
सेबोनका अनुसार बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा आवश्यक निर्देशन दिइसकिएको छ। ती निर्देशनहरू तोकिएको समयभित्र कार्यान्वयन गराउन पनि पहल भइरहेको बोर्डको दाबी छ।
बजारलाई थप स्वस्थ, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया तथा समग्र नियमन प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन प्रक्रिया पनि सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसअन्तर्गत धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानुनी तथा नियामकीय व्यवस्थालाई समयानुकूल बनाउने गरी समीक्षा गरिनेछ। बोर्डका अनुसार यसबाट सार्वजनिक निष्कासन प्रक्रिया थप विश्वसनीय बन्नुका साथै समग्र पुँजीबजारको वातावरण पनि सुदृढ हुने अपेक्षा गरिएको छ।
सेबोनले लगानीकर्ताको हितलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै बजारमा फैलिने अनावश्यक हल्ला, बहकाउ र अफवाहको पछि नलाग्न समेत आग्रह गरेको छ। यसका साथै, लगानीसम्बन्धी निर्णय गर्दा आफ्नै अध्ययन, विश्लेषण र जोखिम वहन क्षमताको मूल्याङ्कनका आधारमा मात्रै निर्णय लिन लगानीकर्तालाई सुझाव दिइएको छ।
