• २०८३ साउन ४
  • 2026 July 20, Monday

गत आर्थिक वर्ष काम खोज्दै ७ लाख ९२ हजार नेपाली पुगे १५१ देश

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको वार्षिक प्रतिवेदन अनुसार गत साउनदेखि असारसम्मको अवधिमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ नेपाली वैदेशिक रोजगारीमा गएका हुन्।

विभागका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६० प्रतिशत अर्थात् ४७ हजार ७९ ले कम हो। आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना नेपाली काम खोज्दै विदेशिएका थिए ।

विभागका तथ्यांकले गत आर्थिक वर्ष ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला वैदेशिक रोजगारीमा गएको देखाएको छ।

गत आर्थिक वर्ष म्यानपावर कम्पनीहरूमार्फत २ लाख ६८ हजार ९९० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांक छ।

व्यक्तिगत श्रम स्वीकृतिमार्फत १ लाख २८ हजार ५२० जना र जी-टु-जी प्रणालीमार्फत ८ हजार १९७ जना वैदेशिक रोजगारीमा गएका छन्। यस्तै, पुनः श्रम स्वीकृति लिएर ३ लाख ८५ हजार ७८३ जना नेपाली विदेश गएका छन्।

यूएई पहिलो गन्तव्य

इरानसँग अमेरिका इजरायलको युद्धको प्रभाव खाडी मुलुकहरुमा समेत परेको भएपनि विभागको तथ्यांकले त्यसबाट खाडी मुलुकमा जाने नेपालीलाई निरुत्साहित नगरेको देखाएको छ। गत वर्ष समेत सबैभन्दा धेरै नेपाली कामका लागि खाडी मुलुक नै पुगेका छन्।

देशगत रुपमा गत आर्थिक वर्ष सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। युएई जानेको संख्या १ लाख ८३ हजार ५८० छ।

त्यसपछि, मलेसिया र कतार जाने नेपालीको संख्या अधिक छ। गत आर्थिक वर्ष १ लाख ३२ हजार ६०६ जना मलेसिया तथा १ लाख ३२ हजार ५१ जना नेपाली कतार पुगेका छन्।

यस्तै, गत आर्थिक वर्ष १ लाख २४ हजार ५८३ नेपाली रोजगारीका लागि साउदी अरब पुग्दा ४३ हजार ३६० नेपाली कुवेत गएका छन्।

ओमान पुग्ने नेपालीको संख्या ११ हजार ६३३ छ भने बहराइन जानेको संख्या ९ हजार ३३६ छ।

कामका लागि युरोप जाने नेपाली बढ्दै

विभागको तथ्यांकले कामका लागि युरोप जाने नेपालीको संख्या समेत बढ्दै गएको देखाएको छ।

युरोपतर्फ पनि गत आर्थिक वर्ष सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन् । गत आर्थिक वर्ष ३३ हजार ९२० नेपाली रोमानिया गएका हुन्।

रोमानियापछि सबैभन्दा धेरै नेपाली साइप्रस गएका छन्। साइप्रस जाने नेपालीको संख्या ११ हजार ६९ छ।

यस्तै, ७ हजार ६६२ जना क्रोएसिया र ६ हजार ३७० जना टर्की पुगेका छन्। ६ हजार ११० नेपाली माल्टा जाँदा ३ हजार ८ सय जना पोर्चुगल र ३ हजार ७८८ जना सर्बिया गएका छन्।

गत वर्ष २२ हजार २६६ नेपाली जापान तथा ९ हजार ७८ नेपाली दक्षिण कोरिया गएको तथ्यांक छ।

गत आर्थिक वर्ष नेपालीहरु द्धन्द्धग्रस्त सुडानदेखि लेबनन समेत पुगेको देखिन्छ।

रोजगारी खोज्दै गथ आर्थिक वर्षमा नेपालीहरु १५१ देश गएका छन्।

विदेश जानेमा कस्ता कामदारको बर्चश्व ?

विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमा दक्ष कामदारको संख्या अधिक छ। गत आर्थिक वर्ष ४ लाख ८२ हजार ६४३ दक्ष कामदार विदेशिएका छन्।

त्युसपछि १ लाख ९० हजार २६४ अदक्ष, १ लाख १४ हजार ६१४ अर्धदक्ष, ३ हजार ५७० व्यावसायिक तथा १ हजार ९६ उच्च दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्।