धनगढी । सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई अस्पताल लागिएको छ ।
शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइए पछि उनलाई सेती प्रादेशिक अस्पताल लागिएको हो ।
धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएपछि उनलाई अस्पताल पुर्याइएको छ ।
सहयोगी अमृत जैशीका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीका सहयोगीसँग तथा राति स्वयं डा. केसीसँग टेलिफोन संवाद गर्दै माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी नै आउने प्रतिबद्धता जनाएका छन् ।
डा. केसी बिहीबारदेखि पाँच बुँदे मागसहित सत्याग्रहमा बसेका छन् । उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडानका रूपमा अघि सारेका छन् ।