• २०८३ साउन ९
  • 2026 July 25, Saturday

लुम्बिनी लायन्समा पुन: ट्रम्पलमन

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित पहिलो विदेशी खेलाडी साइन गरेको छ, रुबेन ट्रम्पलमनलाई पुन अनुबन्धन गर्दै यसको सुरुवात गरेको छ ।

देब्रेहाते तीब्र गतिका २८ वर्षे बलर लुम्बिनी लायन्सको उपाधि यात्रामा NPL को प्लेयर अफ द टूर्नामेन्ट`मा चुनिएका थिए। उनले ६.७२ को इकोनोमी र १४.९३ को औषतमा १५ विकेट लिनुका साथै ७ इनिङ्समा ४ मा अविजित रहि ४१ रन बनाएका थिए । बलिङका साथै कर्णाली याक्ससँगको समूहचरणको खेलमा उनले १४ बलमै १ चौका र ३ छक्का प्रहार गर्दै नटआउट २९ रन बनाएका थिए।

गत वर्षको यात्रामा ट्रम्पलमनले लुम्बिनी लायन्सले खेलेको सबै १० खेल खेलेका थिए । सुदुरपश्चिम रोयल्स सगको फाइनलमा उनी प्लेयर अफ द फाइनल बनेका थिए । उनले फाइनलमा २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिएका थिए । ट्रम्पलमनले आफ्नो पहिलो २ ओभरमा विनोद भण्डारी र शेल्डन ज्याक्सनलाई आउट गरी लुम्बिनी लायन्सलाई उपाधिको नजिक पुर्‍याएका थिए ।

‘हामी रुबेन ट्रम्पलमनलाई लुम्बिनी लायन्समा पुनः भित्राउँदै उपाधि रक्षा अभियान सुरु गरेका छौं, उनी जस्ता खेलाडीसँगको सम्झौता नवीकरण गर्न केवल औपचारिकतामात्र बाँकी थियो । हामी लिगेसीलाई निरन्तरता दिन चाहान्छौं, अनुभवी खेलाडीको हिसाबमा उनले लुम्बिनी लायन्सको टोलीलाई एकदमै नजिकबाट बुझेका खेलाडी हुन् । एसोसिएट क्रिकेटमा जमेका खेलाडी भएकाले पनि उनलाई लुम्बिनी लायन्समा सजिलै भिज्न सफल भएका हुन् । उनको साथमा लुम्बिनी लायन्सले आफ्नो विरासतलाई निरन्तरता दिने तथा अझ नयाँ उचाई छुने विश्वास लिएका छौं’ लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले भने।

ट्रम्पलमनले युएईको आइएल टी–२० लिग र क्यानडाको ग्लोबल टी–२० लिगमा पनि खेलेका छन् । ट्रम्पलमन हाल नामिबियाबाट प्रतिनिधित्व गर्दै नेदरल्यान्ड्समा नेदरल्यान्ड्स र नेपालसँग क्रिकेट विश्वकप लिग २ खेलिरहेका छन् । ट्रम्पलमनले नामिबियाबाट ५३ एकदिवसीय अन्तर्राष्ट्रियमा ७७ र ५४ टी–२० अन्तर्राष्ट्रियमा ५४ विकेट लिएका छन् ।

च्याम्पियन लुम्बिनी लायन्सले मार्की एवंम कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेश गौतमलाई ‘रिटेन’ गरेको थियो । त्यस्तै अक्सनबाट लुम्बिनी लायन्सले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो ।