• २०८३ साउन ११
  • 2026 July 27, Monday

डोटीमा भारतीय सहयोगमा निर्मित केदार सूर्य बहुमुखी क्याम्पस भवनको उद्घाटन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित बडीकेदार गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्मित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस ‍(हाल केदार सूर्य बहुमुखी क्याम्पस)को नयाँ भवनको उद्घाटन गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले सोमबार एक समारोहका बीच संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरे।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण गरिएको यो क्याम्पस भवन दुई तल्ले रहेको छ। प्रत्येक तलामा ७ वटा कोठा र अन्य आवश्यक सुविधाहरू उपलब्ध छन्। यो परियोजना बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा हाल शिक्षा शास्त्र (बि. एड.) र व्यवस्थापन (बिबिएस) संकायको अध्ययन अध्यापन हुँदै आएको छ। नयाँ पूर्वाधार निर्माणसँगै यस क्षेत्रको शैक्षिक स्तर सुधार्न र विद्यार्थीहरूलाई सहज वातावरणमा शिक्षा प्रदान गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष साउदले शिक्षा र पूर्वाधारको क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे।

भारतीय राजदूतावासका अनुसार, हालसम्म नेपालका ७४ जिल्लामा स्वास्थ्य, शिक्षा र अन्य विभिन्न क्षेत्रमा गरी करिब ६०० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइएका छन्। जसमध्ये सुदूरपश्चिम प्रदेशमा ४७ वटा परियोजना रहेका छन् भने डोटी जिल्लामा मात्रै ४ वटा परियोजना सम्पन्न भइसकेका छन्।

यसका अतिरिक्त, भारत सरकारले सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। जसमध्ये डोटी जिल्लाले ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस प्राप्त गरेको छ।
नेपाल र भारतबीचको गहिरो र बहुपक्षीय सम्बन्धलाई यस किसिमका विकास परियोजनाहरूले थप मजबुत बनाएको राजदूतावासले जनाएको छ।