• २०८३ साउन ११
  • 2026 July 27, Monday

पार्टी निर्माणमा सि जिनपिङको अवधारणाबारे नेपालमा चर्चा

काठमाडौं । नेपालसहित विश्वमा राजनीतिक दलको निर्माण र त्यसको प्रभावकारी संचालनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङको अवधारणा उपयोगी हुने विज्ञहरुले बताएका छन् ।

फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राजनीतिज्ञ जगन्नाथ खतिवडा, परराष्ट्रविद डा. गोपाल खनाल, पूर्व राजदूत महेशराज दाहाल, अनुसन्धानकर्ता डा. दीपक देवकोटा र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले पार्टी निर्माणमा राष्ट्रपति सी का विभिन्न आयामबारे धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै  पूर्व राजदूत दाहालले राष्ट्रपति सिको अध्ययनशिल बानी नै पार्टी र राष्ट्र निर्माणका लागि आधारशिला बनेको उल्लेख गरे ।

दाहालका अनुसार श्रम शिविरमा हुँदा पनि निकै अध्धयन गर्ने सी लामो र नयाँ सोचका थिए । सृजनशीलता परिवर्तनकारी सोचका धनी सीले पार्टी सदसयता पाउन पनि निकै संघर्ष गरेकाले पार्टी कस्तो हुनुपर्छ भन्ने पनि उनले राम्रोसँग बुझेका थिए । राम्रो दृष्टिकोण भए पार्टी र देश बन्छ भन्ने कुरा उनले प्रमाणित गरेर देखाए । भ्रष्टाचार विरुद्वका कार्यक्रम र दल भित्रको शुद्वतामा उनको जोड थियोे । नेतृत्वको जिम्मेवारी र कर्तव्य । प्रविधि विकास, जनताको सहभागीता, विज्ञानमा लगानी उनको पार्टी निर्माणका प्रमुख साधन हुन् ।

यस्तै , डा. दिपक देवकोटाले राष्ट्रपति सी ले राज्यबाट डर नभई भरोसा जगाउने काम गरेर सफलता प्राप्त गरेको धारणा राखे । जनतालाई केन्द्रमा राखेर पार्टी र देश निर्माण गर्न उनी सफल भए ।

जनताले विश्वास गर्ने पार्टी बनाउन राष्ट्रपति सी ले सुशासन र सुरक्षालाई प्राथमिकता दिएको उनले बताए ।

परराष्ट्र विद डा. गोपाल खनालले विश्वव्यापी सुशासन अभियान र नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद नै सि जिनपिङको पार्टी निर्माणको स्पष्ट अवधारणा भएको बताए ।

पार्टी नियम र देश कानुनबाट चल्छ भन्ने कुरा राष्ट्रपति सी ले स्थापित गरेको उनको भनाइ छ । जनतालाई विकास दिने सोच नै सिको सोच भएको खनालको निष्कर्ष छ।

आर्थिक अनियमितता गर्ने ७० लाख भन्दा बढीलाई चीनमा कारबाही गरिएको जानकारी दिंदै खनालले राष्ट्रपति सी को सुशासन अभियानको प्रशंसा गरे ।

नेता जगन्नाथ खतिवडाले अनुशासन, अनुगमन र आत्मसमीक्षाको सुत्र न‌ै राष्ट्रपति सि को पार्टी र देश निर्माणको आधारशिला रहेको धारणा राखे ।

राष्ट्रपति सि ले विचार निर्माण, राजनीति निर्माण र संगठन निर्माणमा जोड दिंदै पार्टीमा गुणस्तरीय सदस्यलाई मात्र स्थान दिएको खतिवडाले बताए ।

चीन जस्तो शक्तिशाली राष्ट्र हाम्रो छिमेकी भएकाले दलीय एकता तथा दीर्घकालीन सोच र योजनाका साथ अघि बढ्ने कुरा नेपालले सिक्नुपर्ने खतिवडा बताउँछन् ।