सन् २०२५ विश्व राजनीतिका लागि अस्थिरता, युद्धको भय साथै सत्ता उलटपुलटको वर्षका रूपमा देखिएको छ। वर्षभर विश्वका विभिन्न भागमा भएका राजनीतिक, धार्मिक र सैन्य घटनाक्रमले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई हल्लाइदियो भने जनआन्दोलन र कूटनीतिक हस्तक्षेपले नयाँ यथार्थ निर्माण गर्यो।
यस वर्षको सुरुवातदेखि नै विश्वका अनेक राष्ट्रहरूमा सामाजिक असन्तुष्टि र आर्थिक समस्याहरूले जनआन्दोलनलाई जन्म दियो। भ्रष्टाचार, बेरोजगारी, महँगी र शासनप्रतिको गहिरो अविश्वासले युवापुस्ता सडकमा उत्रन बाध्य भयो। जसले बङ्गलादेश, नेपाललगायतका देशमा सत्ता उलटपुलट गरिदियो भने मडागास्कर देखि युरोपका केही भागसम्म सत्तागत ढाँचामा नै चाप पुर्यायो।
अमेरिकामा डोनाल्ड ट्रम्पको पुनः सत्ता आगमनसँगै अमेरिकी राजनीति थप ध्रुवीकृत बन्यो। आप्रवासन, व्यापार नीति र चीनप्रतिको कडा दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रभाव पार्यो। यसै क्रममा न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक बहसको केन्द्र बने। सामाजिक न्याय, घर भाडा नियन्त्रण, निःशुल्क सार्वजनिक यातायात र धनीमाथि कर वृद्धिजस्ता नीतिका कारण राष्ट्रपति ट्रम्पले उनलाई सार्वजनिक रूपमा “कम्युनिस्ट” भन्दै आलोचना गरे। ट्रम्पको यो टिप्पणीले अमेरिका भित्रै पुँजीवादी मोडेल र समाजकल्याणमुखी नीतिबीचको वैचारिक द्वन्द्वलाई सतहमा ल्यायो र सङ्घीय सरकार तथा स्थानीय शासनबिचको सम्बन्धबारे बहस चर्कियो।
दक्षिण एसियामा भारत र पाकिस्तानबिचको तनाव २०२५ मा युद्धको नजिकसम्म पुगेको देखियो। सीमामा भएका सैन्य झडप, मिसाइल परीक्षण र ड्रोन गतिविधिले दुई आणविक शक्ति राष्ट्रबीच ठूलो द्वन्द्वको आशङ्का पैदा गर्यो। दुवै देशभित्र राष्ट्रवादी राजनीति हाबी हुँदा अवस्था झनै संवेदनशील बन्यो। अन्ततः अमेरिका, चीन र संयुक्त राष्ट्र सङ्घको कूटनीतिक हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आए पनि दक्षिण एसियाको सुरक्षा अवस्था अझै नाजुक रहेको सङ्केत यो वर्षले दियो।
मध्यपूर्वमा इजरायल र प्यालेस्टाइनबीचको सङ्घर्ष २०२५ मा पनि निरन्तर हिंसात्मक रह्यो। गाजामा भएका सैन्य कारबाही, ठुलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु र मानवीय सङ्कटले अन्तर्राष्ट्रिय समुदायलाई गहिरो चिन्तामा पारे। युद्ध विरामका प्रयास भए पनि स्थायी समाधान देखिएन। यसै वर्ष इजरायल र इरानबिचको तनाव झनै चुलिँदा मध्यपूर्व प्रत्यक्ष क्षेत्रीय युद्धको जोखिममा पुग्यो। मिसाइल आक्रमण, प्रतिशोधको चेतावनी र सैन्य तयारीले विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्ने सम्भावना बढायो।
२०२५ क्याथोलिक विश्वका लागि ऐतिहासिक वर्ष पनि बन्यो। लामो समयदेखि क्याथोलिक चर्चको नेतृत्व गर्दै आएका पोप फ्रान्सिसको अप्रिल महिनामा निधन भयो। शान्ति, गरिबी उन्मूलन, आप्रवासी अधिकार र युद्ध विरोधी आवाजका कारण चिनिएका पोप फ्रान्सिसको निधनपछि भ्याटिकनमा कन्क्लेव आयोजना गरियो। कन्क्लेवबाट कार्डिनल रोबर्ट फ्रान्सिस प्रभोस्ट नयाँ पोपका रूपमा चयन भए र उनले “पोप लियो XIV” नाम ग्रहण गरे। नयाँ पोपले आफ्नो पहिलो सम्बोधनमै युद्ध रोक्न, जलवायु सङ्कट र गरिबीविरुद्ध चर्चको सक्रिय भूमिका रहने स्पष्ट सङ्केत दिए ।
यस वर्षको शरद ऋतुमा दक्षिण–पूर्व एसियामा आएको चक्रवात र बाढीले १,७५० भन्दा बढी मानिसको मृत्यु भयो र करिब २५ अर्ब डलर (१९ अर्ब पाउन्ड) बराबरको क्षति भयो, जबकि क्यालिफोर्नियामा लागेको जङ्गल आगोबाट ४०० भन्दा बढी मानिसको मृत्यु भयो र ६० अर्ब डलर बराबरको आर्थिक क्षति भयो। चीनमा आएको विनाशकारी बाढीमा हजारौँ मानिस विस्थापित भए। यो प्रकोप तेस्रो सबैभन्दा महँगो साबित भयो, करिब १२ अर्ब डलर बराबरको नोक्सानी भयो र कम्तीमा ३० जनाको ज्यान गयो।
समग्रमा सन् २०२५ विश्वका लागि सङ्क्रमणको वर्ष बन्यो। युद्ध र शान्ति, सत्ता र जनआन्दोलन, पुराना शक्ति र नयाँ नेतृत्वबिचको सङ्घर्षले विश्व व्यवस्था पुनः परिभाषित हुने सङ्केत दियो। विश्व राजनीति अझै अनिश्चित देखिए पनि २०२५ ले जनताको आवाज, कूटनीति र शान्ति प्रयासलाई बेवास्ता गर्न नसकिने यथार्थ स्पष्ट रूपमा देखाएको छ।