विगत भदौ २३–२४ को ‘जेन–जी’ विद्रोहपछि मुलुक निर्वाचनतर्फ उन्मुख हुँदैछ। आन्दोलनका माग कति सार्थक भए वा भएनन्, त्यो फरक पाटो हो। तर केही दिनयता तीव्र रूपमा विकसित घटनाक्रमबारे टिप्पणी गर्न मन लाग्यो।
सबैभन्दा पहिले, आफूलाई नयाँ र वैकल्पिक भन्ने शक्तिहरू एकै ठाउँमा आएकोमा बधाई छ। तर हर्षित हुनुभन्दा मैले यस विषयलाई अलि फरक दृष्टिकोणबाट हेरिरहेको छु। काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह प्रधानमन्त्री पदका लागि अघि सरेर रास्वपा निर्वाचनमा जाने भएको छ। नगरपालिकाभित्र उनले गरेका विकास योजनाहरू र नगर तथा देशप्रतिको उनको प्रतिबद्धतामा खासै शङ्का नहोला। तर नगरप्रमुख भएको ३.५ वर्ष पुग्दा पनि अधिकांश विषयमा उनले जवाफ नदिएको देखिन्छ। भोलि प्रधानमन्त्री भएपछिचाहिँ जवाफ दिन्छन् त? पालिका र देश चलाउनुमा व्यापक फरक हुन्छ, र त्यससँगै जवाफदेहिता पनि फरक हुन्छ। उनको हक्की स्वभाव र काम गर्ने शैली काठमाडौं महानगरपालिकाको ‘लाइभ मिटिङ’मै देख्न सकिन्छ। त्यो उनको स्वभाव हुन सक्छ, तर नेतृत्वमा जवाफदेहिता अनिवार्य कुरा हो।
“गरिबको चमेली बोलिदिने कोही छैन” भनेर गीत गाउने व्यक्तिले चिया बेच्ने दिदी, ठेला चलाएर जीविका चलाउने दाइहरूप्रति देखाएको व्यवहारको उत्तर दिनु पर्दैन? उत्तर नदिए पनि उनीहरूको जीविकोपार्जनका लागि उपयुक्त विकल्प खोज्नु पर्दैन? बालेन्द्र शाह प्रधानमन्त्रीमा बढाउनु अघि, रास्वपाभित्र रहँदा उनले विभिन्न मित्र राष्ट्रबारे लेखिएको स्टाटसमाथि प्रश्न सोधियो होला त? कम्तीमा प्रधानमन्त्री भएपछि लिइने परराष्ट्र नीतिबारे स्पष्टता मागिएको छ? भूराजनीतिक रूपमा अत्यन्त संवेदनशील क्षेत्र मानिने नेपालमा, ठूला र शक्तिशाली मित्र राष्ट्र प्रति गरिएको सम्बोधन देशका लागि लाभदायक हुन्छ? भोलि प्रधानमन्त्री कार्यालयमा पहिलो दिनदेखि ‘ग्रेटर नेपाल’को नक्सा झुन्ड्याइयो भने के हुन्छ? त्यो राष्ट्रवाद हुन्छ कि मूर्खवाद?
अर्को पाटोमा, रवि लामिछानेले ‘जेन–जी’ विद्रोहका बेला जेलबाट निस्केर युद्ध जितेजस्तो गरी सवारी चढेको विषयमा प्रश्न सोधियो त? आज हामीलाई त्यो दिन गृह मन्त्रालयबाट जारी गरिएको भनिएको पत्र सक्कली थियो कि नक्कली भन्ने चासो छ। कसैले प्रश्न सोधेको छ? रास्वपाका सबै उम्मेदवारले गाउँ–गाउँमा भोट माग्न जाँदा प्रष्ट रूपमा “हामी बाटो र ढल बनाउने होइनौँ, नीति र नियम बनाउने हौँ” भनेर भन्छन् त? रास्वपाको संघीयता, राजसंस्था र प्रणालीप्रतिको दृष्टिकोण के हो? दायाँ वा बायाँ ठ्याक्कै भन्नै नपरे पनि, विचार के हो त भन्नु त पर्ला नि। संसदीय प्रणाली कि प्रत्यक्ष निर्वाचित कार्यकारी त? संघीयता मान्छु भने समावेशीतामा देखिएको उपेक्षाप्रति फेरि प्रश्न उठ्छ होला, हैन? नयाँ पार्टी भएकाले धेरै कुरा विकासोन्मुख होला, तर कम्तीमा ३–४ वटा आधारभूत विषयमा आफ्नो पक्ष स्पष्ट गर्नु पर्दैन? अहिले चुपचाप बसेर आएको मत र परिस्थितिअनुसार ढल्किने पोथी प्रवृत्ति दीर्घकालीन होला?
“ब्रेकिङ न्युज: बालेन–रवि मिले” भन्दै सिधाकुरा, RONB जस्ता मिडियामा समाचार कसरी पहिला आउँछ? यसमा प्रश्न गर्न मिल्दैन? यदि बालेन र भिक्टर साथी हुन् भने, कैलाश सिरोहिया र केपी ओली पनि समानकालीन साथी हुन् भन्नुमा म गलत हुन्छु? रवि–बालेनको एकता हुँदा आइरहेका समाचार, स्रोतहरू, भेटिएका ठाउँहरू र छिटफुटमा देखिएका व्यक्तिहरूले धेरै कुराको संकेत गर्छन्। छुट्टाछुट्टै लडेर कतै नपुगिने बुझेपछि एकताको महसुस गरेर छोटो समयमै गरिएको यो एकताको उद्देश्यप्रति शंका छैन। समयको अभावले धेरै कुरा नटुंग्याइ अघि बढिएको हुन सक्छ, तर एकता एजेन्डामा होस्, आवश्यकताको सिद्धान्तमा मात्र होइन, यात्रा दीर्घकालीन होस्।
यी पात्र र पार्टीबारे मैले यस्तो लेखें भन्दैमा म विरोधी होइन। मेरो मूल कुरा एउटै हो-प्रश्न गर्न पहिलो दिनदेखि सिक्नुपर्छ र गर्नुपर्छ। प्रश्न गर्दा विरोधी भइँदैन, बरु प्रश्न नगर्दा भगवानवाद निम्तिन्छ। आज देशमा पुराना भनिएका यी तीन नेता आफ्नो राजनीतिक जीवन सुरु गर्दा, के आजका रवि र बालेनभन्दा कम थिए? के उनीहरू कम राष्ट्रभक्त थिए? तर आज देश यो अवस्थामा किन आइपुग्यो? मूल प्रश्न यही हो। समाजले हौसिँदै, भगवान बनाएर स–साना गल्ती आँखा चिम्लेर जयजयकार गर्दा नै नेतृत्वमा अहंकार पलाउँछ र विस्तारै अधिनायकवादतर्फ ढल्किन्छ—
“Power corrupts; absolute power corrupts absolutely.” अन्धभक्त बन्ने, हौसिने, र कसैले प्रश्न सोध्यो भने ‘झोले’ भन्ने प्रवृत्तिले हामीलाई कतै पुर्याउँदैन। ७ साल, ४७ साल, ६२–६३ र ७२ सालको संविधानपछि हरेकपटक हामी सबै नेपाली खुसी भयौँ, अब देश बन्छ भन्ने आशा गर्यौँ। तर परिणाम आज हामी सबैका सामु छ। यसको अर्थ आशा नगर्नु वा परिवर्तनको पक्षमा नहुनु होइन। सहीलाई सही र गलतलाई गलत भन्न सिकौँ, प्रश्न गर्ने बानी बसालौँ। समस्या केवल पार्टी, केपी ओली, प्रचण्ड वा देउवामा मात्र होइन-समस्या तपाईं, हामी अनि समग्र समाजमा छ। आसन्न फागुन २१ मा हुन गइरहेको निर्वाचन शान्तिपूर्ण र सफल होस्, देशमा सकारात्मक परिवर्तन आओस्, देशको मुहार फेरियोस्, सबैलाई शुभकामना।