साउदी अरबले देशका लाखौँ ऊँटलाई पासपोर्ट जारी गर्ने घोषणा गरेको छ।
साउदी अधिकारीहरूका अनुसार यस कदमले देशका यी मूल्यवान जनावरहरूको अझ राम्रो हेरचाह गर्न मद्दत गर्नेछ।
साउदी अधिकारीहरूको भनाइमा यस कदमले ऊँट पालनका फाइदाहरू बढउने छ। साथै, जनावरहरूको पहिचान र तिनका मालिकहरूबारे भरपर्दो डाटाबेस समेत तयार हुनेछ।
साउदीको पर्यावरण, जल र कृषि मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा यससँग सम्बन्धित कागजातहरू पनि देखाइएको छ। त्यसमा देशको ‘कोट अफ आर्म्स’ (राजचिन्ह) र ऊँटको सुनौलो छाप भएको हरियो पासपोर्ट समेत देखाइएको छ।
सन् २०२४ को सरकारी अनुमान अनुसार साउदीमा करिब २२ लाख ऊँट छन्।
यी ऊँटहरूले हरेक वर्ष देशको अर्थतन्त्रमा २ अर्ब रियालभन्दा बढीको योगदान दिन्छन्।
अरब न्यूजका अनुसार विश्वभर करिब साढे ३ करोड ऊँट छन् । यसमध्ये १ करोड ७० लाख अरब देशहरूमा छन्। अरब देशहरूमध्ये सबैभन्दा धेरै ऊँट सोमालियामा छ। त्यसपछि सुडान, मोरिटानिया, साउदी अरब र यमनमा धेरै ऊँट छन् ।
ऊँट साउदी अरबको राष्ट्रिय प्रतीकको हिस्सा समेत हो। साउदीमा ऊँटहरूको सौन्दर्य प्रतियोगिता र शोहरू पनि आयोजना गरिन्छ । त्यस्ता प्रतियोगिताहरुमा उत्कृष्ट ऊँटहरूलाई पुरस्कार समेत प्रदान गरिन्छ।
ऊँटबिना साउदीमा राष्ट्रिय दिवस, विशेष र ऐतिहासिक अवसरहरूमा आयोजना हुँदैनन् । ऊँटबिनाको प्रदर्शनीहरूलाई साउदीमा अपूर्ण मानिन्छन्। साउदी र अरब देशहरूमा ऊँटको भूमिकाको लामो इतिहास उपलब्ध छ।
ऊँटको इतिहास
संक्षिप्त इतिहासमा पल्टाउने हो भने २०औँ शताब्दीको प्रारम्भिक वर्षहरूमा इस्लाम धर्मका पवित्र शहर मक्का र मदीनाको यात्राका लागि ऊँट नै एक मात्र साधन रहेको देखिने तस्बिरहरू भेटिन्छन्।
अफगानिस्तान, मध्ये एसिया, दक्षिण एसिया र सुदूर पूर्वबाट धार्मिक यात्रामा निस्किएका मानिसहरूको काफिला लामो यात्रापछि ऊँटमै साउदी अरब पुग्थे। खाडीका मरुभूमिहरूमा आवतजावतका लागि ऊँट प्रयोग गर्ने परम्परा सयौँ वर्ष पुरानो हो।
साउदी अरबमा ढुंगामा कुँदिएका ऊँटका मूर्तिहरू संसारकै सबैभन्दा पुराना जनावरका तस्बिर हुन सक्ने एक अनुसन्धानले देखाएको छ। पहिलो पटक सन् २०१८ मा गरिएको त्यस उत्खननले ढुंगामा कुँदिएका यी तस्बिरहरू करिब २ हजार वर्ष पुराना हुन सक्ने अनुमान गरेको छ।
ती तस्बिरहरू जोर्डनको प्रसिद्ध प्राचीन शहर पेट्रामा भेटिएका अवशेषसँग मिल्दोजुल्दो भएकाले सो अनुमान गरिएको हो । यद्यपि, पछिल्ला अनुसन्धानमा यी ऊँटका तस्बिरहरूको उमेर ७ देखि ८ हजार वर्ष पुरानो रहेको बताइएको छ।
ढुंगामा गरिएको तस्बिरको ठ्याक्कै उमेर निर्धारण गर्नु अनुसन्धानकर्ताहरूका लागि ठूलो चुनौती बनेको छ । यसको कारण भनेको गुफा चित्रहरूको विपरीत यस्ता नमूनाहरूमा प्रायः कुनै जैविक सामग्री हुँदैन। यस्तै, यस क्षेत्रमा यस स्तरको ‘रक आर्ट’ भेटिनु पनि दुर्लभ छ।
२०२१ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको एक टोलीले आफ्ना नतिजा जर्नल अफ आर्कियोलोजिकल साइन्स मा प्रकाशित गर्यो।
उनीहरूले मूर्तिहरूको नयाँ मिति निर्धारण गर्न तिनका ढाँचा, चिन्हहरू र जनावरका हड्डीहरूको विश्लेषण गरेका थिए।
यस्ता स्मारकहरू पाषाण युगभन्दा पनि पुराना हुन सक्ने बताइन्छ । यसको उमेर ५ हजार वर्षभन्दा बढी हुन सक्छ। यी मिस्रका गीजा पिरामिडभन्दा पनि पुराना हुन सक्छन्, जुन साढे ४ हजार वर्ष पुराना छन्।
यस्ता स्मारकहरू ऊँटलाई पालतु जनावरका रूपमा पाल्नुअघि नै बनाइएका थिए, जुन यस क्षेत्रको आर्थिक विकासको महत्वपूर्ण पहिचानका रुपमा थिए।
जब यी मूर्तिहरू बनाइएका थिए, त्यसबेलाको साउदी अरब आजको भन्दा बिल्कुलै भिन्न थियो। आजका मरुभूमिहरूको सट्टा त्यहाँ विभिन्न ताल, हरियाली र घाँसे मैदानहरू थिए।
तर हालसम्म यी ऊँटका मूर्तिहरू किन बनाइए भन्ने स्पष्ट छैन । तर अनुसन्धानकर्ताहरूको अनुमानमा ती घुमन्ते जनजातिहरू भेटघाट गर्ने स्थान हुन सक्छन्।
“ऊँटबिनाको मरुभूमिमा बाँच्न असम्भव थियो”
साउदी इतिहासकार तथा रियाद अखबारका स्तम्भकार बदर बिन सउदको बुझाइमा ऊँट सैयौँ वर्षदेखि अरब प्रायद्वीपको जीवनको अभिन्न हिस्सा रहँदै आएका छन्।
उनका शब्दमा, “ऊँटबिनाको यस पोल्ने मरुभूमिमा बाँच्न असम्भव थियो।”
यही विशेषताका कारण अरब संसारको अर्थतन्त्र, संस्कृति र जीवनका अन्य पक्षहरूमा ऊँटको महत्वपूर्ण स्थान रहेको छ।
“इस्लामपूर्व कालमा तर्फा इब्न अल अब्द जस्ता कविहरूले पनि आफ्ना कवितामा ऊँटको उल्लेख गरेका थिए। ऊँटहरूले मानव जीवनमा यति ठूलो भूमिका खेलेका छन् कि तिनीहरूलाई बेवास्ता गर्न सकिँदैन,” सउद भन्छन्, “यही कारणले इस्लामका पैगम्बर हजरत मोहम्मदसँग पनि ‘कस्वा’ नामको एउटा ऊँट थियो।”
यद्यपि सवारी वा सामान ढुवानीका लागि ऊँटको आवश्यकता अहिले कम भएको छ । तर पनि अरबी नेताहरू र ऊँटबीचको प्रेम र ऐतिहासिक सम्बन्ध भने अझै कायम छ।
आधुनिक साउदी अरबका संस्थापक शाह अब्दुल अजीजसँग ऊँटहरूको एउटा बथान नै थियो, जसलाई ‘अल रमाह’ भनिन्थ्यो । तर उनीसँग एउटा विशेष ऊँट पनि थियो जसलाई ‘अल दुवैला’ भनिन्थ्यो।
शाह सलमान पनि ऊँटका ठूला सौखिन
बदर बिन सउद भन्छन्, “बादशाहले एकपटक राजकुमार सउद बिन मोहम्मदलाई आफ्ना सुन्दर ऊँटहरूमध्येको एक ‘मुनकिया’ लाई भोज पार्टीमा बोलाउन भनेका थिए। साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि ‘अल शरफ’ नामको एउटा सुन्दर र उत्कृष्ट नस्लको ऊँट छ।”
एउटा ऊँटले चार सय किलोग्रामसम्मको भार बोक्न सक्ने भएकाले ऊँटलाई ‘मरुभूमिको जहाज’ पनि भनिन्छ।
गाडी र आधुनिक साधन नहुँदा मक्काका कुरैश सरदारहरूका काफिलाहरू यिनै ऊँटमा सवार भएर सिरिया र यमनसम्म यात्रा गर्थे।
‘उकलात’ भनिने व्यापारीहरूले ४०० वर्षअघि भारत, टर्की, मोरक्को र नाइजेरियासम्म ऊँटको व्यापार गर्थे। केही दशकअघिसम्म ऊँटको प्रयोग तेल निकाल्न र सफा गर्न पनि गरिन्थ्यो।
रङका आधारमा ऊँटलाई विभिन्न श्रेणीमा बाँडिएको छ। ऊँट खैरोदेखि रातो रङसम्मका हुन्छन्। ऊँट विज्ञहरूका अनुसार ओमान र सुडानका ऊँटहरू दौडने क्षमताका लागि प्रसिद्ध छन् भने साउदी अरबका तटीय क्षेत्रका पोथी ऊँटहरू दूधका लागि चिनिन्छन्।
समृद्धशाली साउदी अरब अहिले विश्वको प्रविधि र आधुनिक युगसँग ताल मिलाउन ठूलो पूँजी लगानी गरिरहेको छ । तर त्यसका बाबजुद ऊँटको ऐतिहासिक मूल्य र सांस्कृतिक पहिचानलाई पनि यसमा समावेश गर्ने प्रयास भइरहेको छ।
हाल ‘सवानी’ नामक कम्पनी पोथी ऊँटहरूको दूध र पाउडर उद्योगमा लगानी गरिरहेको छ र आफ्ना उत्पादनहरू २५ वटा देशमा निर्यात गरिसकेको छ। यसले पोथी ऊँटहरूको दूधबाट आइसक्रिम पनि बनाउँछ।
‘अबील’ ब्रान्डले ऊँटको ऊन र छालाबाट कपडा, हातले बनाइएका झोला र जुत्ता बनाउँछ। ऊँटको छालालाई गोहीको छालापछि सबैभन्दा बलियो र टिकाउ मानिन्छ।
साउदी अरबको ‘भिजन २०३०’ अन्तर्गत तेल उद्योगपछि ऊँटमा आधारित उद्योग देशको आम्दानीको महत्वपूर्ण स्रोत बन्नेछ।
आम्दानीसँगै ऊँट साउदी इतिहास, धार्मिक परम्परा र रीतिरिवाजहरूको अनुभूतिसँग पनि जोडिएको छ, जुन साउदी नागरिकहरूका लागि गौरवको विषय समेत हो। (बिबिसी हिन्दीबाट)