• २०८३ जेठ २८
  • 2026 June 11, Thursday

किम जोङ उनकी छोरी उत्तर कोरियाको आगामी शासक बन्छिन् ? दक्षिण कोरियाली जासुसी संस्थाको नयाँ खुलासा

सोल । विश्वकै सबैभन्दा रहस्यमयी र एकान्त मुलुक उत्तर कोरियामा ‘अर्को शासक को होला ?’ भन्ने बहस सधैँ चर्चाको विषय बन्ने गर्छ। हालैका दिनहरूमा किम जोङ उनकी किशोरी छोरी किम जु ए को बढ्दो सार्वजनिक उपस्थिति र सक्रियताले उनलाई भावी उत्तराधिकारीका रूपमा हेर्न थालिएको छ।

दक्षिण कोरियाको जासुसी संस्था ‘नेशनल इन्टेलिजेन्स सर्भिस’ले किम जोङ उनले आफ्नी छोरीलाई ‘उत्तराधिकारीका रूपमा मनोनीत गर्ने चरणमा प्रवेश गरेको’ दाबी गरेपछि यो विषयले थप चर्चा पाएको हो।

दक्षिण कोरियाली सांसदहरूका अनुसार, जासुसी संस्थाले बन्द कोठामा गरेको ब्रिफिङमा किम जु ए अब केवल बाबुको साथमा हिँड्ने किशोरी मात्र नरहेको बताइएको छ। उनले पछिल्लो समय सरकारी नीति र कदमहरूमा समेत आफ्नो राय व्यक्त गर्न थालेको सूचना प्राप्त भएको जासुसी संस्थाको दाबी छ।

सन् २०२२ मा पहिलो पटक बाबुसँग अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षणका क्रममा सार्वजनिक देखिएकी जु ए त्यसयता दर्जनौँ सैन्य कार्यक्रम, परेड र महत्वपूर्ण उत्सवहरूमा देखिएकी छन्। हालै नोभेम्बर २०२५ मा उत्तर कोरियाली वायुसेनाको ८० औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एयर शो’ मा पनि उनी किम जोङ उनकै साथमा देखिएकी थिइन्।

गत सेप्टेम्बरमा किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको सैन्य परेडमा सहभागी हुन बेइजिङको भ्रमण गर्दा जु ए पनि साथैमा थिइन्। यद्यपि, उनलाई क्यामेराको लेन्सबाट टाढै राखिएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सी जिनपिङसँगै किम जोङ उनले नयाँ विश्व व्यवस्था को सन्देश दिइरहँदा जु ए पनि त्यहीँ हुनुलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरूले उनलाई सुरुमा ‘प्यारी छोरी’ भन्ने गर्थे भने अहिले ‘आदरणीय छोरी’ भन्न थालेका छन्। किम जोङ उनका तीन सन्तान रहेको विश्वास गरिए पनि जु ए मात्र सार्वजनिक रूपमा देखिएकी छन्। अन्य दुई सन्तानलाई किमले गोपनीयता र सुरक्षाका कारण पर्दा बाहिरै राखेको हुनसक्ने विज्ञहरूको अनुमान छ।

सबै विज्ञहरू जु ए नै आगामी शासक बन्नेमा सहमत भने छैनन्। कतिपयका अनुसार यो अन्तर्राष्ट्रिय जगतको ध्यान तान्ने एउटा स्टन्ट मात्र हुनसक्छ। उत्तर कोरिया जस्तो पुरुष प्रधान समाजमा महिला शासकलाई स्वीकार गरिनेछ कि छैन भन्ने प्रश्न अझै बाँकी छ।

किम जोङ उन अहिले ४० वर्षको हाराहारीमा मात्रै भएकाले उनले तुरुन्तै शक्ति हस्तान्तरण गर्ने सम्भावना कम छ।