• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बंगलादेश निर्वाचन : कसले जित्यो, कसले हार्‍यो र अबको बाटो के ?

बंगलादेशका नयाँ नेताले देशमा परिवर्तन ल्याउन सक्लान् ?

काठमाडौं । झण्डै दुई वर्षअघि शेख हसिनाले एकतर्फी निर्वाचन जितेर १५ वर्षको सत्तालाई थप मजबुत पार्दा कसैले कल्पना पनि गरेका थिएनन् उनको सत्ता तासको महल जस्तै ढल्नेछ र इतिहासले यसरी कोल्टे फेर्नेछ। तर, फेब्रुअरी १२ को निर्वाचन परिणामले बंगलादेशमा एउटा ठूलो राजनीतिक ‘फ्लिप–फ्लप’ (उलटपुलट) गराएको छ। लन्डनमा १७ वर्ष निर्वासनमा बिताएका ६० वर्षीय तारिक रहमान अब बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

बंगलादेशको निर्वाचन आयोगको तथ्याङ्क अनुसार, २९७ सिटका लागि भएको मतदानमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २१२ सिट जितेको छ। त्यस्तै, बंगलादेश जमात–ए–इस्लामीले ६८ सिट हासिल गरेको छ। आन्दोलनबाट जन्मिएको नेसनल सिटिजन पार्टी (एनसीपी) ले ६ सिट जितेको छ भने स्वतन्त्र उम्मेदवार र अन्य दलहरूले १४ सिट प्राप्त गरेका छन्।

तारिक रहमानले पहिलो पटक औपचारिक रूपमा आफ्नो पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व मात्रै गरेनन्, उनी आफैँ पहिलो पटक चुनावमा पनि होमिए। उनकी आमा खालेदा जियाको गत वर्षको निधनपछि पार्टीको पूर्ण कमान सम्हालेका तारिकका लागि यो जित ‘पुनर्जन्म’ जस्तै हो।

विगतमा आमा प्रधानमन्त्री हुँदा उनीमाथि नातावाद र भ्रष्टाचारको आरोप लागेको थियो। लामो समय देश बाहिर रहेकाले उनलाई कतिपयले ‘परीक्षण हुन बाँकी’ नेताका रूपमा हेरेका छन्। तर, राजनीतिक विश्लेषक नभिन मुर्सिदका अनुसार जनता अहिले परिवर्तनका लागि जोसुकैलाई मौका दिन तयार छन्।

सन् २०२४ को जुलाई विद्रोहमा ज्यान हत्केलामा राखेर सडकमा उत्रिएका युवा मतदाताहरू यसपटक निर्णायक देखिए। युवाहरु भन्छन्, ‘जब देश भ्रष्टाचारमुक्त हुन्छ र अर्थव्यवस्था सुध्रिन्छ, तब मात्र हाम्रो वास्तविक जित हुनेछ।’ उनीहरू नयाँ सरकारलाई चेतावनीसाथ भन्छन् ‘हामीलाई लड्न आउँछ, यदि फेरि पुरानै पारा दोहोरियो भने हामी चुप लागेर बस्ने छैनौँ।’

यस निर्वाचनमा सबैभन्दा ठूलो फड्को ‘जमात–ए–इस्लामी’ ले मारेको छ। हसिना सरकारले दुई पटक प्रतिबन्ध लगाएको यो दल ६८ सिटसहित मुख्य विपक्षी दल बनेको छ। जमातले आफ्नो चुनावी घोषणापत्रमा ‘धर्मनिरपेक्षता’ र ‘विकास’को कुरा गरे पनि उसको आधिकारिक वेबसाइटमा अझै ‘इस्लामिक कानुन’ को कार्यान्वयनको कुरा छ। विश्लेषकहरू जमातको यो उदयलाई लिएर सशंकित छन्, किनकि यसको छवि महिला विरोधी र अनुदारवादी मानिन्छ।

जुलाई विद्रोहमा महिलाहरूको सहभागिता अभूतपूर्व थियो, तर चुनावी राजनीतिमा भने उनीहरूलाई उपेक्षा गरियो। कुल उम्मेदवारमध्ये ४ प्रतिशत मात्रै महिला हुनुले बंगलादेशका दलहरू अझै पनि पुरुष प्रधान सोचबाट मुक्त हुन नसकेको देखाउँछ। ३५० सदस्यीय संसदमा ५० सिट महिलाका लागि सुरक्षित भए पनि प्रत्यक्ष निर्वाचनमा उनीहरूको पहुँच अझै कमजोर छ।

भारतमा निर्वासनमा रहेकी शेख हसिनाले यस निर्वाचनलाई ‘धोखाधडी र प्रहसन’ को संज्ञा दिएर नयाँ चुनावको माग गरेकी छन्। हाल अवामी लिगप्रति जनताको आक्रोश तीव्र छ।

नयाँ बन्ने तारिक रहमानको सरकारका अगाडि समस्याका पहाडहरू छन् । अब बन्ने नयाँ सरकारका लागि शान्ति सुरक्षा कायम गर्नु पहिलो प्राथमिकता हुनेछ। साथै, अर्थतन्त्र उकास्नु, खाद्य पदार्थको मूल्य घटाउनु र बंगलादेशको ठूलो युवा जनसंख्याका लागि रोजगारी सिर्जना गर्नु ठूला चुनौतीका रूपमा खडा छन्।

याे पनि पढ्नुहोस् ।

निर्वाचनमा विजयी बीएनपीले भारतसँग भन्यो– शेख हसिनालाई फिर्ता पठाउनू