काठमाडौँ । सुर्खेतमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनासम्बन्धी प्रमाण, बयान र उपलब्ध तथ्यका आधारमा तयार पारिएको प्रतिवेदन अब कानुनी प्रक्रियामा प्रवेश गर्नेछ ।
गत फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्केकी इनिशा वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
अनुसन्धानबाट एक किशोरलाई मुख्य अभियुक्तका रूपमा पहिचान गरिएको छ । प्रहरीको निष्कर्षअनुसार उनीसँग भएको शारीरिक सम्पर्कका क्रममा यौनाङ्गमा गहिरो चोट लागेर अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको देखिएको छ । पोस्टमार्टम रिपोर्टले पनि यही तथ्यलाई पुष्टि गरेको जनाइएको छ । यस आधारमा मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउँदै जन्मकैदको माग गरिएको छ ।
प्रहरीले प्रारम्भिक आशंकाझैँ सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ । घटनामा पक्राउ परेका अन्य तीन किशोर प्रत्यक्ष संलग्न नभए पनि घटनास्थलमा पुगेपछि पीडितलाई समयमै उपचारका लागि पहल नगरेको आरोपमा उनीहरूविरुद्ध पनि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।
अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत परिचालन गरिएको थियो । उच्च प्रविधि, मोबाइल विश्लेषण तथा अन्य फरेन्सिक परीक्षणहरू प्रयोग गरिए पनि केही प्राविधिक रिपोर्ट अझै प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ती रिपोर्ट विदेश पठाइएका नमूनाबाट आउने क्रममा छन्, जसले मृत्युको कारण अझ स्पष्ट पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यता, पीडित परिवार भने अनुसन्धानप्रति पूर्ण सन्तुष्ट छैनन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् । न्याय नपाएसम्म शव नबुझ्ने अडानका कारण इनिशाको शव १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालमै राखिएको छ ।
अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय लिएपछि मुद्दा अदालतमा दर्ता हुने प्रक्रिया अघि बढ्नेछ ।