काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा व्यवसायी दीपक भट्टलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भट्टलाई काठमाडौँ उपत्यकाभित्रैबाट पक्राउ गरिएको हो । यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छानबिन सुरु गरिसकेको थियो भने सोही प्रक्रियाअन्तर्गत अध्यागमन विभागलाई पत्राचार गरी उनको राहदानी कालोसूचीमा राखिएको थियो ।
अनुसन्धान स्रोतका अनुसार भट्ट र उनीसँग सम्बन्धित व्यक्तिहरूको आर्थिक कारोबार केही वर्षअघिदेखि नै शंकास्पद देखिए पनि पछिल्लो समय पुनः फाइल खोलेर विस्तृत अनुसन्धान थालिएको हो । विभागले विभिन्न चरणमा उनीसँग सम्बन्धित व्यक्तिहरूको बयानसमेत लिइसकेको छ ।
हालसम्मको प्रारम्भिक अनुसन्धानमा पुनर्बीमा कम्पनी, होटल परियोजना तथा सेयर कारोबारसँग जोडिएको अर्बौं रुपैयाँको वित्तीय गतिविधिमा भट्टको संलग्नता देखिएको बताइएको छ । साथै, ठेक्का व्यवस्थापन, सरकारी खरिद तथा राजनीतिक पहुँचमार्फत प्रभाव प्रयोग गरेको आरोप पनि उनीमाथि लागेको छ ।
प्रहरीले भट्टसँग सम्बन्धित अन्य शंकास्पद कारोबारहरूबारे थप अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धान निष्कर्षमा पुगेपछि निकट भविष्यमा मुद्दा दायर गर्ने तयारी गरिएको बताइएको छ ।