• २०८३ जेठ २५
  • 2026 June 08, Monday

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६-संस्करण ५’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंमा चार दिनसम्म चलेको उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ।

जेठ १७ गते आइतबारदेखि २० गते बुधबारसम्म सञ्चालन भएको यस प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ। प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टोलीहरूको सहभागिता रहेको थियो।

विजेता तथा उपविजेता टोलीहरूलाई गत शुक्रबार एक विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विजयी टोलीलाई ट्रफी तथा पुरस्कार हस्तान्तरण गरियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत पनि गरिएको छ । उत्कृष्ट खेलाडी कृतार्थ शाक्य (प्राईम कमर्सियल बैंक), उत्कृष्ट ब्याट्सम्यान: सृजन सुवेदी (माछापुच्छ्रे बैंक), उत्कृष्ट बलर: मोहन कुमार श्रेष्ठ (नेपाल बैंक लिमिटेड), उत्कृष्ट विकेट–किपर: अनिल भुजेल (सानिमा जीआईसी इन्स्योरेन्स), उत्कृष्ट फिल्डर: लक्ष्मण प्रधान (लुम्बिनी विकास बैंक), फेयर प्ले अवार्ड: सानिमा जीआईसी इन्स्योरेन्स लि.ले जित्न सफल भए ।

महालक्ष्मी विकास बैंकले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहभागी टोली र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।