काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर मैदानमा खेल सुरु हुनुअघि नै यो प्रतियोगिता विभिन्न विवादका कारण चर्चामा आएको छ । खेलाडी र अधिकारीहरूले प्रवेशाज्ञा तथा आगमन प्रक्रियामा समस्या भोगिरहेका छन् भने प्रवेशपत्र बिक्रीलाई लिएर पनि फिफामाथि आलोचना बढेको छ ।
सबैभन्दा ठूलो विवाद सोमालियाका रेफ्री उमर अब्दुलकादिर आर्टनसँग सम्बन्धित रहेको छ । रिपोर्ट अनुसार उनलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश अनुमति नदिइ पुनः इस्तानबुल फर्काइएको छ । यस घटनापछि सोमालियाका प्रधानमन्त्री हसन अली खैरेले कडा असन्तोष व्यक्त गरेका छन् ।
उनले भनेका छन्- ‘अफ्रिकाका उत्कृष्ट र विश्वकै प्रमुख रेफ्रीमध्येका उमर आर्टनले प्रवेशाज्ञा सम्बन्धी समस्याका कारण विश्वकपमा रेफ्रीको भूमिका निभाउन नपाउने खबरले म अत्यन्तै निराश छु । उमरले आफ्नो प्रतिभा, कडा मेहनत, व्यावसायिकता र इमानदारीका आधारमा यो स्थान हासिल गरेका हुन् ।’
यो विवाद केवल रेफ्रीमा मात्र सीमित रहेन । इराकका उपकप्तान तथा प्रमुख स्ट्राइकर अयमान हुसेनलाई पनि अमेरिका पुगेपछि करिब सात घण्टा सोधपुछका लागि रोकिएको थियो । उनी त्यही खेलाडी हुन् जसले इराकलाई विश्वकपमा पुर्याउने निर्णायक गोल गरेका थिए ।
उनका साथै टोलीका एक अन्य खेलाडी र एक फोटोग्राफरलाई पनि सोधपुछ गरिएको थियो । पछि अयमान हुसेनलाई प्रवेश अनुमति दिइयो तर फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन ।
रिपोर्ट अनुसार अमेरिका र ईरानबीचको राजनीतिक तनावको असर फुटबलमा पनि परेको छ । ईरानी खेलाडीहरूले प्रतियोगिता सुरु हुन १० दिनअघि मात्र प्रवेशाज्ञा पाएका हुन् । ईरानी प्रतिनिधिमण्डलका केही प्रशासनिक सदस्यलाई भने प्रवेश अनुमति दिइएन । ईरानका राजदूत अली पसंदीदेहले ७० सदस्यीय टोलीमध्ये १५ जनालाई अमेरिका प्रवेश नदिइएको दाबी गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईरानी टोलीको सहभागिताबारे टिप्पणी गर्दै सुरक्षा कारण देखाउँदै प्रश्न उठाएका थिए ।
प्रतियोगिताका प्रवेशपत्रको मूल्यलाई लिएर पनि फिफा आलोचनाको केन्द्रमा परेको छ । युरोपका धेरै समर्थक समूहहरूले महँगो मूल्यको गुनासो गरेका छन् । रिपोर्ट अनुसार समूह चरणको सबैभन्दा सस्तो प्रवेशपत्र करिब १३ हजार रुपैयाँ बराबर १४० अमेरिकी डलरबाट सुरु हुन्छ भने फाइनलको प्रवेशपत्र करिब ८ लाख ३० हजार रुपैयाँ बराबर ८ हजार ६८० डलरसम्म पुगेको छ । माग बढ्दै जाँदा मूल्य स्वतः बढ्ने प्रणालीले समस्या झनै बढाएको आरोप छ ।
स्कटल्यान्डका केही समर्थकहरूले पहिले अनुमति पाए पनि पछि स्थिति परिवर्तन भएको गुनासो गरेका छन् । यसले उनीहरूको यात्रा र होटल खर्च डुबेको बताएका छन् । त्यस्तै केही समर्थकहरूले मैदान नजिकको सिट खरिद गरे पनि पछि थप अस्थायी संरचना बनाइएकाले दृश्य अवरुद्ध भएको आरोप लगाएका छन् ।
१२ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा ४८ टोली सहभागी हुनेछन् र कुल १०४ खेल खेलाइनेछ । तर प्रतियोगिता सुरु हुनुअघि नै देखिएका भिसा समस्या, रेफ्री विवाद, प्रवेशपत्रको महँगो मूल्य र समर्थकका गुनासाले आयोजक तयारीमाथि प्रश्न उठाएको छ ।
विश्व फुटबलको यो महाकुम्भ समयमै सुरु हुने तयारीमा भए पनि, सुरुवातअघि नै देखिएको विवादको लामो सूचीले प्रतियोगिताको चमक केही हदसम्म धमिलो बनाएको देखिन्छ।