बाजुराको बुढीगङ्गामा पुनः मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको बिहीबारकाे बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम सो निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी जानकरी दिएका हुन् । गत वैशाख ३० गते सो पालिकामा भएको मतदानमा राजनीतिक विवाद भएपछि आयोगले आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा छानविन टोली स्थलगतरूपमा खटाएको थियो ।

आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले निजहरुलाई तीन दिनभित्र हटाई सो पदमा अन्य कर्मचारीलाई खटाउन पनि निर्देशन दिएको छ ।

आयोगले ती पदमा जिम्मेवार कर्मचारी खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयललाई निर्देशन दिनाका साथै निजहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३८ को उपदफा १ बमोजिम मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१