• २०८३ जेठ ३१
  • 2026 June 14, Sunday

कुमारी क्यापिटलका कर्मचारीलाई धितोपत्र बजार सम्बन्धी ‘एएमएल/सीएफटी’ तालिम

काठमाडौं । एएमएल नेपाल (AML Nepal) ले कुमारी क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजारमा आधारित एकदिने सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (AML/CFT) सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

नेपालमा एएमएल/सीएफटी परामर्श सेवामा विशेषज्ञता हासिल गरेको संस्था एएमएल नेपालले कुमारी क्यापिटलका कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यो कार्यक्रम आयोजना गरेको हो।

तालिम विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल/सीएफटी सम्बन्धी व्यवहारिक ज्ञान, नियामक दायित्व र अनुपालन क्षमता बढाउन केन्द्रित थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामक व्यवस्था, र धितोपत्र बोर्डको निर्देशन अनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका र जिम्मेवारीबारे विस्तृत प्रस्तुति दिइएको थियो। साथै, मर्चेन्ट बैंकरहरूले पालना गर्नुपर्ने व्यवहारिक पक्षहरूबारे पनि छलफल भएको थियो।

तालिमको सहजीकरण विज्ञद्वय श्रीधर अधिकारी र लेखनाथ पोखरेलले गरेका थिए। कार्यक्रममा कुमारी क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिने वास्तविक अनुपालनका चुनौतीहरू र उत्कृष्ट अभ्यासहरूका बारेमा सक्रिय रूपमा छलफल गरेका थिए।

एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पुँजी बजारको पारदर्शिता, विश्वसनीयता र वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी एएमएल/सीएफटी अनुपालन अपरिहार्य रहेको उल्लेख गरे। यसले समग्र वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्व र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास उनीहरूले व्यक्त गरे।
एएमएल नेपालले नेपालमा एएमएल/सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण र जोखिम मूल्याङ्कन जस्ता सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाले बैंक, वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता लगायत अन्य रिपोर्टिङ गर्ने निकायहरूलाई पूर्ण समाधान उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ।