• २०८३ असार २१
  • 2026 July 05, Sunday

ठमेल पर्यटन विकास परिषद्को निर्वाचन: सचिव पदमा प्रकाश थपलियाको उम्मेदवारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को ३० र ३१औँ साधारण सभा तथा निर्वाचनमा धादिङका युवा पर्यटन व्यवसायी प्रकाश थपलियाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

धादिङ जिल्लाबाट पर्यटन व्यवसायमा स्थापित थपलिया विगत एक दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सक्रिय रूपमा योगदान दिँदै आएका छन्। विदेशमा आकर्षक अवसरहरू हुँदाहुँदै पनि आफ्नै देशमा बसेर पर्यटन क्षेत्रमार्फत राष्ट्रको सेवा गर्ने अठोटका साथ उनले आफ्नो व्यवसायिक तथा सामाजिक यात्रा अघि बढाएका छन्।

नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा परिचित ठमेल क्षेत्रमा उनले विगत चार वर्षदेखि ठमेल पर्यटन विकास परिषद्मा जिम्मेवारी सम्हाल्दै आएका छन्। परिषद्को कार्यसमितिमा दुई वर्ष सदस्य तथा त्यसपछि दुई वर्ष कोषाध्यक्षको रूपमा सफलतापूर्वक कार्य गर्दै संस्थागत सुशासन, आर्थिक अनुशासन र पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

अब परिषद्को ३० र ३१औँ साधारण सभा तथा निर्वाचनमा सचिव पदका उम्मेदवार बनेका थपलियाले ठमेललाई अझ व्यवस्थित, सुरक्षित, स्वच्छ र अन्तर्राष्ट्रिय स्तरको पर्यटन गन्तव्यका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले पर्यटन व्यवसायी, स्थानीय समुदाय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि सक्रिय नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार अनुभव, इमान्दारिता, पारदर्शिता र पर्यटन क्षेत्रप्रतिको दीर्घकालीन समर्पणका कारण प्रकाश थपलिया सचिव पदका बलिया उम्मेदवारका रूपमा हेरिएका छन्। परिषद्को आगामी नेतृत्व चयनले ठमेलको पर्यटन विकाससँगै नेपालको समग्र पर्यटन उद्योगलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।