काठमाडौँ। गृह मन्त्रालयले गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी दिएका हुन्।
गृहमन्त्री गुरुङका अनुसार समितिले घटनाका सबै पक्षको अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्नेछ। उनले छानबिन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।
घटनासँग सम्बन्धित प्रारम्भिक अनुसन्धानका क्रममा काठमाडौं महानगर प्रहरी बलका तीन जना नगर प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा पर्नेमा दुई महिला र एक पुरुष नगर प्रहरी रहेका गृहमन्त्रीले जानकारी दिए।
मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो।
उक्त घटनापछि छानबिनको माग उठेपछि गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको हो।