काठमाडौँ। सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्युवरण गरेका वा अशक्त बनेका श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति प्रदान गरेको छ। वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८२/८३ मा १ हजार ७८१ जना छात्र र १ हजार ५८२ जना छात्रालाई छात्रवृत्ति उपलब्ध गराएको हो।
प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी विद्यार्थीहरू लुम्बिनी प्रदेशबाट रहेका छन्, जहाँ ७७८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । यसैगरी, कोशी प्रदेशबाट ७३७ जना, मधेश प्रदेशबाट ७१३ जना र गण्डकी प्रदेशबाट ५३१ जना विद्यार्थी समेटिएका छन्।
बागमती प्रदेशमा ३८१ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा हुनेहरूको सङ्ख्या तुलनात्मक रूपमा कम देखिएको छ। विवरणअनुसार कर्णाली प्रदेशबाट १३८ जना र सुदूरपश्चिम प्रदेशबाट ८५ जना विद्यार्थीहरू छात्रवृत्तिका लागि छनोट भएका छन्। वै
देशिक रोजगार बोर्डमा प्राप्त हुन आएका छात्रवृत्तिका निवेदनहरू उपर बोर्डले आवश्यक कागजातहरूको मापदण्डका आधारमा छनोट गरे बमोजिम छात्रवृत्ति वितरण गरिएको छ ।
मृत्युरअशक्त भएका श्रमिकका छोराछोरीलाई शिक्षामा राहत पुर्याउने उद्देश्यले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम बोर्डले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। बोर्डका अनुसार निवेदनहरू आउने क्रम जारी रहेकोले छात्रवृत्ति प्राप्त गर्नेहरूको सङ्ख्यामा वृद्धि हुनेछ ।