काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले चार वटा विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द गरेको छ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले बुधबार एक सूचना जारी गर्दै छानबिन समितिको रायका आधारमा ती विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द गरिएको जनाएको हो ।
केन्द्रले समकक्षता रद्द गरेको चार वटै विश्वविद्यालयहरु भारतका हुन् । यसमा भारत मेघालयको सीएमजे विश्वविद्यालय, जोराबाद र टेक्नो ग्लोबल विश्वविद्यालय, सिलोङ रहेका छन्।
त्यस्तै, मणिपुरको सांघाई इन्टरनेश्नल विश्वविद्यालय तथा झारखण्डको प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयबाट प्राप्त उपाधिहरूको समकक्षता प्रमाणपत्र समेत रद्द गरिएको छ ।
सूचनामा केन्द्रबाटै ती समकक्षता प्रदान गरिएको भएपनि छानबिन समितिको रायका आधारमा त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम ती प्रमाणपत्रहरू रद्द गरिएको जनाइएको छ ।
योसँगै सीएमजे विश्वविद्यालयबाट १३ जना नेपाली विद्यार्थीले प्राप्त गरेको डिग्रीको समकक्षता गुमेको छ । यस्तै, सांघाई इन्टरनेश्नल विश्वविद्यालयबाट उपाधि पाएका ९८ जना, टेक्नो ग्लोबल विश्वविद्यालयबाट उपाधि पाएक २ जना र प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयबाट उपाधि पाएका एक जना विद्यार्थीको उपाधिको समकक्षता गुमेको छ ।
यसरी उपाधि गुमाउने विद्यार्थीहरुले ती विश्वविद्यालय वा अन्तर्गतका क्याम्पसबाट स्नातक, स्नाकोत्तर र पिएचडीसम्मको अध्ययन पुरा गरेर त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिएका थिए ।